राष्ट्रपति र उपराष्ट्रपति चुनिएपछि रिक्त हुने क्षेत्रमा वैशाख १० मै उपनिर्वाचनको तयारी

निर्वाचन आयोगले राष्ट्रपति वा उपराष्ट्रपति निर्वाचनपछि रिक्त हुने निर्वाचन क्षेत्रहरूमा वैशाख १० गते नै निर्वाचन गर्ने तयारी थालेको छ।

काठमाडौँ– निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति चुनिएपछि रिक्त हुने निर्वाचन क्षेत्रमा पनि वैशाख १० मै उपनिर्वाचन गर्ने तयारी थालेको छ। 

राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनपछि कुनैपनि क्षेत्रमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पद रिक्त भए वैशाख १० मै  निर्वाचन गर्ने तयारी रहेको आयोगले जनाएको छ। 

चितवन–२ मा रिक्त भएको प्रतिनिधिसभा सदस्य पदका लागि वैशाख १० मा उपनिर्वाचन घोषणा गरेको आयोगले सोही दिन राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनपछि रिक्त हुने पदहरूमा निर्वाचन गर्ने तयारी गरेको आयोगका एक आयुक्तले जानकारी दिए।

फागुन २५ गते हुन गइरहेको राष्ट्रपति निर्वाचनका लागि तनहुँ–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र इलाम–२ बाट प्रतिनिधिसभा सदस्यमै निर्वाचित नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ उम्मेदवार बनेका छन्। 

दुईमध्ये एकजना राष्ट्रपतिमा निर्वाचित भएपछि निर्वाचित हुने व्यक्तिले संघीय सांसद पदबाट राजीनामा दिनुपर्ने छ। त्यो अवस्थामा प्रतिनिधिसभा सदस्य पद रिक्त हुने भएकाले आयोगले उक्त क्षेत्रमा उपनिर्वाचनमार्फत सांसद चुन्नुपर्ने छ। 

त्यस्तै, निर्वाचन आयोगले चैत्र ३ का लागि उपराष्ट्रपतिको निर्वाचनको मिति घोषणा गरेको छ। उक्त निर्वाचनमा पनि कुनै प्रतिनिधिसभा सदस्य वा प्रदेशसभा सदस्यमा निर्वाचित व्यक्ति उम्मेदवार बनी उपराष्ट्रपतिमा निर्वाचित भएको अवस्थामा सो पद रिक्त हुनेछ। त्यस्तोमा आयोगले उक्त क्षेत्रमा पनि उपनिर्वाचन गराउने छ। 

त्यस्तै, राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि बुधबारदेखि आचारसंहिता जारी गर्ने तयारीमा निर्वाचन आयोगको रहेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए। “भोलिदेखि निर्वाचन आचारसंहिता लाग्छ। त्यसको तयारी भइरहेको छ,” उनले भने, “रिक्त हुने क्षेत्रमा उपनिर्वाचन गराउने विषयमा पनि हामीले तयारी गरिरहेका छौँ।” 

उनले पनि राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनपछि कुनै पद रिक्त रहेमा त्यसमा वैशाख १० भित्रनै निर्वाचन गर्ने आफूहरूले तयारी गरिरहेको तर, यसबारे निर्णय भइनसकेको बताए।

अहिले उपनिर्वाचनलाई मध्यनजर गर्दै आयोगले मतदाता नामावलीको अद्यावधिक गर्ने काम गरिरहेको छ। “असार मसान्तसम्म निर्वाचन गर्नुपर्‍यो भने यही मतदाता नामावली अन्तिम मानेर त्यसैका आधारमा निर्वाचन गर्ने भन्ने निर्णय हामीले यसअघि नै गरिसकेका छौँ,” थपलियाले भने।

राष्ट्रपति निर्वाचनपछि तनहुँ वा इलाममा उपनिर्वाचन हुने निश्चित छ। तर, उपराष्ट्रपतिको हकमा के हुने भन्ने उम्मेदवारको मनोनयन दर्ता र नतिजा आएपछि मात्र यकिन हुनेछ। तर, पछिल्लो सत्तासमीकरण बनेपछि जसपाले उपराष्ट्रपति पाउने सहमति भएको छ। त्यो कार्यान्वयन भएमा उपराष्ट्रपतिमा जसपाले बारा–२ बाट निर्वाचित सांसद रामसहाय प्रसाद यादवलाई उम्मेदवार बनाउने तयारी गरेको छ। 

अध्यक्ष उपेन्द्र यादवले उनलाई गठबन्धनबाट उम्मेदवार बनाएर निर्वाचित भएपछि रिक्त हुने क्षेत्रमा आफू उपनिर्वाचनबाट संघीय संसद् छिर्न खोजिरहेका छन्। त्यसकारण पनि त्यहाँ उपनिर्वाचन हुने निश्चितजस्तै देखिएको छ।