सेनाको डिजिटल अभिलेख सुरक्षित छैन, टर्कीमा मलाई जर्साबहरूका इमेल खोलेर देखाइयो : आरजु राणा

नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले नेपाली सेनाको डिजिटल अभिलेख सुरक्षित नभएको बताएकी छन्।

काठमाडौँ- नेपाली कांग्रेसकी सांसद एवं नेतृ आरजु राणा देउवाले नेपाली सेनाको डिजिटल अभिलेखमा छिद्र रहेको खबर आफूले पाएको बताएकी छन्। 

मंगलबार ललितपुरमा नेपाल विद्यार्थी संघद्वारा आयोजित अल नेपाल ह्याकथन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्। 

उनले नेपालमा डिजिटल प्रणाली शुरूवात गरेपनि त्यसको प्रयोग गर्न नेपालीहरू पूर्ण सक्षम नरहेको बताए। उनले नेपाली सेनाको डेटाहरू आफूले टर्की पुग्ने गरेको जानकारी पाएको उल्लेख गर्दै साइबर सुरक्षामा नेपालले आफ्नै प्रविधिको विकास गर्न जरुरी रहेको बताइन्। 

उनले नेपालले साइबर सुरक्षाका लागि आफ्नै प्रविधि विकास गर्न नसकुन्जेल नेपालको सुरक्षा लगायतका सबैखाले तथ्यांकहरू चोरी हुने खतरा रहेको उल्लेख गरिन्। हालै मात्र पनि सरकारी वेबसाइट ह्याक भएको उल्लेख गर्दै सरकारले गरेको काममा आईटी क्षेत्रका विद्यार्थीहरूले थप अध्ययन गर्न आवश्यक रहेको जिकिर गरिन्। 

उनले भनिन्, “हाम्रो जस्तो देशमा के हुँदो रहेछ भने हामीले शुरू त गर्‍यौँ, हाम्रो आर्मीको सबै डेटा टर्कीमा देखाइदियो। जर्साबहरूको सबै इमेल देखाइदियो मलाई। पर्सनल इमेल थियो तर भोलि सुरक्षासम्बन्धी कुनैपनि इमेल अर्को देशबाट सहजै हेर्न सकिन्छ।”

त्यस्तै, नेपाल विद्यार्थी संघका सभापति दुजाङ शेर्पाले नेबिसंघको अबको अजेण्डा शैक्षिक, सामाजिक, युवाहरुलाई उद्यमशील बनाउने, नेपालमै युवाहरूलाई टिकाउने र जलवायु परिवर्तनको अजेण्डामा केन्द्रित रहेको बताए। 

उनले नेपालले साइबर सुरक्षाका लागि आफ्नै किसिमको अध्ययन र अनुसन्धान गरी आफ्नै प्रविधि विकास गर्न जरुरी रहेको बताए।