बाख्मुत शहरको अवस्था कठिन बनिरहेको छ : जेलेन्स्की

रुसी आक्रमणबाट बाख्मुत शहरका संरचना ध्वस्त बनिरहेको र त्यहाँको जनजीवन कठिनपूर्ण बन्दै गएको राष्ट्रपति जेलेन्स्कीले बताएका छन्।

तस्वीर:एपी

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले नियन्त्रण लिने प्रयास गरिरहेको बाख्मुत शहरको अवस्था झन‍्झन् कठिनपूर्ण बन्दै गएको बताएका छन्। पछिल्लो ६ महिनायता रुसले निरन्तर आक्रमण गरिरहेकाले बाख्मुत शहरका संरचना ध्वस्त बनेको र त्यहाँको जनजीवन कठिनपूर्ण बन्दै गएको राष्ट्रपति जेलेन्स्कीले बताएका हुन्।

“हामीले हाम्रो क्षेत्रलाई सुरक्षित गर्न प्रयोग गर्ने सबै उपकरण र संरचनाहरू शत्रुले नष्ट गरिरहेका छन्", जेलेन्स्कीले भने।

अमेरिकी ट्रेजरी विभागका अधिकारी जनेट येलेनले युक्रेनको राजधानी किभ भ्रमणका क्रममा चीनलाई रुसमा सैन्य सहयोग नगर्न चेतावनी दिएको केही समयपछि जेलेन्स्कीले बाख्मुतको खराब अवस्थाबारे जानकारी गराएका हुन्।

चीनले स्पष्ट रूपमा रुसको पक्ष लिएको अमेरिकाको भनाइ छ। साथै, युक्रेनको पूर्वी क्षेत्रमा रुसले सैनिकहरूको संख्या बढाइरहेको जानकारी दिँदै अमेरिकी रक्षा विभागले चीनले शान्ति स्थापनाको प्रस्ताव देखाएर 'दलाली' गरिरहेको आरोप लगाएको छ।

बाख्मुतमा रुसले युक्रेनमाथि आक्रमण गरेयताको सबैभन्दा भीषण युद्ध भइरहेको बीबीसीले उल्लेख गरेको छ।

यसैबीच, रुस र युक्रेनको छिमेकी देश मोल्दोभामा रुस समर्थक सर्वसाधारणले सरकारविरोधी प्रदर्शन चर्काएका छन्। छिमेकी देश युक्रेनमा युद्ध चर्किरहेकै बेला रुस समर्थित नागरिकले मोल्दोभामा आइतबार र सोमबार प्रदर्शन गरेका हुन्।

मोल्दोभामा तनाव
मोल्दोभाकी राष्ट्रपति माइया सान्दुले रुसले मोल्दोभाका जनतालाई उक्साएको आरोप लगाएकी छिन्। राजनीतिक र आर्थिक तनाव झेलिरहेको मोल्दोभामा रुसले थप अस्थिरता निम्त्याएको युरोप समर्थित राष्ट्रपति सान्दुको भनाइ छ।

आइतबार मात्रै मोल्दोभाका रुस समर्थित हजारौँ प्रदर्शनकारीले सडकमा सरकारविरोधी प्रदर्शन गरेका थिए। यता, रुसले पनि मोल्दोभाको अवस्थाबारे आफूले चासो राखेको बताएको छ। ट्रान्सनिस्त्रिया क्षेत्रमा युक्रेन र अन्य युरोपेली देशहरूले अवस्थालाई उत्तेजित बनाएको रुसले आरोप लगाएको छ।

मोल्दोभाको तनावबारे पूर्वी युरोप अध्ययन केन्द्रका एसोसियट विज्ञ डेनिस सनुसाले सीएनएनसँगको कुराकानीमा छिमेकी देशमा युद्ध भइरहँदा मोल्दोभामा प्रदर्शन हुनुले निकै अर्थ राख्ने बताउँछन्। 

"किनकि, युक्रेनको पश्चिमी क्षेत्रमा स्थायित्वका लागि मोल्दोभा निकै महत्त्वपूर्ण क्षेत्र हो। विशेषगरी ट्रान्सनिस्त्रिया क्षेत्रमा रुसी सेना तैनाथ गरेकाले युक्रेनका लागि सम्भावित खतराको क्षेत्र पनि हो", उनले अगाडि भनेका छन्, "अर्को, रुसी आक्रमणपछि मोल्दोभामा थुप्रै युक्रेनी सर्वसाधारण शरणार्थीका रूपमा बसिरहेका छन्। युक्रेनको रणनीतिक साझेदार पनि हो, त्यसैले त्यहाँको प्रदर्शनले युक्रेनमा पक्कै प्रभाव पर्छ। रुसले मोल्दोभाको राजनीतिक अस्थिरता समाधानका लागि रचनात्मक काममा सकारात्मक भूमिका निभाउने भन्ने द्विपक्षीय सन्धि सम्झौता पनि छ।

तर रुस र राष्ट्रपति भ्लादिमिर पुटिनलाई अनुमान गर्न हुने उनको तर्क छ। अप्रत्याशित कदम चालेमा पुटिनले मोल्दोभामा हस्तक्षेप गर्छन् या गर्दैनन् भन्न सकिने अवस्था नरहेको उनले बताए। "युक्रेनबाट सेना फिर्ता नलगेको र तनाव जारी रहेकाबेला मोल्दोभाले मुलुकभित्र स्थायित्व ल्याउने प्रयास गरिरहेको छ। तर रुसले मोल्दोभाको गरिबीलाई अस्त्र बनाएर सरकारविरुद्ध जनतालाई उक्साउने र आफ्नो प्रभाव बढाउने अनुमान गर्न सकिन्छ", उनले भनेका छन्।

मोल्दोभाले रुसी हस्तक्षेपलाई बेवास्ता गरेको होला त? भन्ने प्रश्नमा एसोसियट विज्ञ सनुसा भन्छन्, “त्यसो भन्न मिल्दैन, किनकि मोल्दोभाको सरकारलाई अमेरिकासहित विभिन्न पश्चिमा मुलुकको साथ छ। र ऊ यसबारे चनाखो पनि छ। त्यहाँको संकट कम गर्न अमेरिकासहित विभिन्न पश्चिमाहरूको सहयोग पनि लिने गरेको छ। यस कुराले रुसलाई रुष्ट छ। तर अहिले रुस समर्थकहरूको प्रदर्शन तुलनात्मक रूपमा कम रहेको छ।”

रोमानिया र युक्रेनकोबीचमा पर्ने पूर्वी युरोपेली देश मोल्दोभा युरोपको एक सानो र गरिब मुलुक हो। जहाँ केही रुस समर्थित मानिसहरू बसोबास गर्छन्। हाल रुसविरोधी सरकार रहेको मोल्दोभामा युक्रेनमा तनाव भएकै बेला सरकारविरोधी प्रदर्शन हुनुले धेरैको ध्यान खिचेको छ। पश्चिमा मिडियाहरूले पनि मोल्दोभामा तनाव बढाउन रुसले भूमिका खेलेको आशंकासहितका खबर छापेका छन्।