आउँदो वर्ष खेलकुदको बजेट बढाउने प्रधानमन्त्रीको घोषणा

ललितपुरमा निर्मित च्यासल रंगशालाको उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी वर्ष खेलकुदको बजेटमा बढोत्तरी गर्ने घोषणा गरेका हुन्।

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी आर्थिक वर्षको बजेटमा खेलकुद क्षेत्रमा बजेट बढाउने घोषणा गरेका छन्। 

मंगलबार ललितपुरको च्यासल रंगशाला उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्। प्रधानमन्त्री दाहालले खेलकुद क्षेत्रले समाजलाई अनुशासित बनाउने उल्लेख गर्दै मर्यादा र संस्कृति स्थापित गर्नका लागि पनि खेल क्षेत्र महत्वपूर्ण रहेको बताए। 

उनले खेलकुदले राजनीतिक, कुटनीतिक र भाइचारा सम्बन्धको विकास हुने दाबी गर्दै सरकारको तर्फबाट देशका सबै प्रदेश र पालिकामा पनि खेल पूर्वाधार निर्माण गर्न नीति, योजना र कार्यक्रम बनाएको बताए। 

उनले भने, “अहिले नेपाल सरकारको तर्फबाट देशका सबै प्रदेश र पालिकाहरूमा पनि खेल पूर्वाधार निर्माण गर्ने सन्दर्भमा हामीले नीति,योजना र कार्यक्रम बनाएका छौँ।”

च्यासल रंगशाला उद्घाटनसँगै कलाकार र एन्फा पदाधिकारीबीच खेल पनि भएको छ। रंगशाला १० हजार दर्शक क्षमताको रहेको छ।