क्याम्ब्रिज विश्वविद्यालयका कान्छा प्रोफेसर, जो १८ वर्षसम्म जान्दैनथिए पढ्नलेख्न

बेलायतका ३७ वर्षीय जेसन आर्डि क्याम्ब्रिज विश्वविद्यालयका प्रोफेसर बनेका छन्। उनी उक्त विश्वविद्यालयका कान्छा प्राेफेसर हुन्।

बेलायतका जेसन आर्डि सबैभन्दा कम उमेरमा क्याम्ब्रिज विश्वविद्यालयका प्रोफेसर बनेका छन्। उनी ३७ वर्षको उमेरमा प्रोफेसरमा नियुक्त भएका हुन्।

अटिजम समस्याका कारण उनको पढाई ढिला भएको थियो। जसका कारण उनले १८ वर्षसम्म पढ्न र लेख्न सकेनन्। साथै, उनको ११ वर्ष भएपछि मात्र बोली फुटेको थियो। यी समस्याका कारण बाँच्न जीवनभर कसै न कसैको सहारा र सहयोग आवश्यक पर्ने भन्दै चिकित्सक र सल्लाहकारले सुझाएका थिए।

तर उनी विश्वकै प्रतिष्ठित विश्वविद्यालयमा शिक्षा संकायमा 'सोसियोलोजी अफ एजुकेसन' विषयका प्रोफेसर बनेका छन्। यति ठूलो सफलतामा जेसनलाई केबल १९ वर्षको पढाइले साथ दिएको हो। साउथवेस्ट लन्डनको क्लापहाममा जन्मिएका उनको हुर्काइ बढाई पनि त्यही नै भएको हो।

प्रोफेसर नियुक्त भएपछि उनले भनेका छन्, “पहिलो पटक औपचारिक परीक्षा दिँदा के गर्दै छु भन्ने पनि थाहा थिएन। मैले सोचेको र जीवनमा घटेको घटना बिलकुलै भिन्न थियो तर पनि सकारात्मक सोच राख्थेँ।” उनले आफ्नो रचनात्मक समयमा नेल्सन मन्डेला जेलमुक्त हुँदाको भिडियो र सन् १९९५ को रग्बी विश्व कपमा दक्षिण अफ्रिकाको प्रतिकात्मक विजय पनि समावेश रहेको बताएका छन्।

अरूको पीडा देख्दा आफू साह्रै दुखी हुने गरेको पनि बीबीसीलाई बताएका छन्। साथै, उनले आफूलाई औपचारिक रूपमा लेख्न सिकाउने कुनै गुरु नभएको पनि बताए।

जेसनले मार्च ६ देखि प्रोफेसरका रूपमा काम शुरू गर्नेछन्। क्याम्ब्रिज विश्वविद्यालयमा जेसनसहित हाल ६ जना अश्वेत प्रोफेसर छन्।