अब गठबन्धनले जित्यो, जित्यो : गगन थापा

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले विगतको पाँच वर्ष खेर गएको उल्लेख गर्दै आफूहरूले जितेपछि भने त्यो समयलाई खेर जान नदिने प्रतिबद्धता व्यक्त गरे।

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सत्तारूढ गठबन्धन विजयी हुने दाबी गरेका छन्।

काठमाडौँ-४ का प्रतिनिधिसभा सदस्यको उम्मेदवारसमेत रहेका महामन्त्री थापाले सत्तारूढ गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा विजयी भएर सरकार बनाउने बताएका हुन्। 

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले विगतको पाँच वर्ष खेर गएको उल्लेख गर्दै आफूहरूले जितेपछि भने त्यो समयलाई खेर जान नदिने प्रतिबद्धता व्यक्त गरे। 

महामन्त्री थापाले निराश र आक्रोशित जनताको मत लिएर सरकार बनेपछि सत्तारूढ गठबन्धनले त्यसलाई खेर जान नदिने गरी काम गर्नुपर्ने पनि स्पष्ट पारे। जनमतको कदर हुने गरी काम गर्न सकिएन भने जनताले विरोध गर्ने उनको भनाइ थियो। 

उनले भने, "गएको पाँच वर्ष खेर गयो। अबको पाँच वर्ष खेर जान दिनु हुन्न। त्यो जान नदिने जिम्मेवारी हाम्रो हो। मैले त नेताहरूलाई भनेको छु–पाँच वर्ष पनि होइन। गठबन्धन त जित्यो, जित्यो अब। संघमा पनि जित्यो, सातवटै प्रदेशमा पनि जित्यो। सातवटा प्रदेशमा पनि हाम्रो सरकार बन्ने हो। संघमा पनि हाम्रो सरकार बन्ने हो।" 

महामन्त्री थापाले आगामी निर्वाचनपछि आफूले सरकारको नेतृत्व गर्न चाहेको पनि दोहोर्‍याए। त्यसका लागि पार्टीभित्रका साथीले आफूलाई साथ दिनुपर्ने उनको भनाइ थियो।