तीन उपाध्यक्ष र ११ जना केन्द्रीय सदस्यले गरे एन्फा कार्यसमिति बैठक बहिस्कार

महासचिव किरण राई र कोषाध्यक्ष रवीन्द्र जोशीको बर्खास्तीको माग गर्दै आएका एन्फाका तीन उपाध्यक्षसहित ११ जना केन्द्रीय सदस्यले कार्यसमिति बैठक बहिस्कार गरेका छन्।

काठमाडौँ - अखिल नेपाल फुटबल संघ (एन्फा)का तीन उपाध्यक्षसहित ११ जना केन्द्रीय सदस्यले कार्यसमिति बैठक बहिस्कार गरेका छन्। 

महासचिव किरण राई र कोषाध्यक्ष रवीन्द्र जोशीको बर्खास्तीको माग राख्दै आएका उनीहरूले बैठक बहिस्कार गरेका हुन्।

एन्फा कार्यसमितिको बैठक बिहान ८ बजे शुरू हुने भनिएको थियो। गत शुक्रबार नै २१ सदस्यीय कार्यसमितिका १२ जनाले राई र जोशीको बर्खास्तीसहित विभिन्न पाँच अजेन्डा बैठकमा सहभागी गराउन माग गरेका थिए। तर, बैठकमा राई र जोशीलाई समेत सहभागी गराएपछि दुई पक्षबीच केहीबेर भनाभन भएको थियो।

एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङले पूर्वनिर्धारित अजेन्डा अगाडी बढाएपछि तीन उपाध्यक्ष दीर्घबहादुर केसी, विराटजंग शाही र दीपक खतिवडा तथा कार्यसमिति सदस्यहरू रूपेश अधिकारी, राम जोशीलगायत बैठकस्थलबाट बाहिरिएका हुन्।