शम्भुनाथ नगरपालिकाका मेयर गुप्ताविरुद्ध अख्तियारले दायर गर्‍यो भ्रष्टाचार मुद्दा

सप्तरीको शम्भुनाथ नगरपालिकाका मेयर जितेन्द्र प्रसाद गुप्ता र इन्जिनियर रामचन्द्र साहविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ।

काठमाडौँ- सप्तरीको शम्भुनाथ नगरपालिकाका नगरप्रमुख जितेन्द्र प्रसाद गुप्ता र इन्जिनियर रामचन्द्र साहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको छ।

नगरपालिकामा कार्यरत इन्जिनियर साहले निर्माण कार्यको भुक्तानीबापत सेवाग्राहीसँग घुस मागिरहेको सूचना/उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिई गएको टोलीले साहलाई सेवाग्राहीबाट एक लाख चालीस हजार रुपैयाँ लिइसकेको अवस्थामा माघ ३ गते नियन्त्रणमा लिएको थियो। 

सोही घटनाको अनुसन्धानको सिलसिलामा शम्भुनाथ नगरपालिकाका नगरप्रमुख गुप्ता र इन्जिनियर साहबीचको आपसी योजना तथा मिलोमतोमा विद्यालयको सभाहल निर्माणको अन्तिम बिल भुक्तानी प्रयोजनको लागि सेवाग्राहीसँग एक लाख चालीस हजार रुपैयाँ घुस मागेको पुष्टि हुन आएको आयोगका प्रवक्ता भोला दाहालले जनाएका छन्। 

उनका अनुसार गुप्ता र साहलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र सोही दफा ३ को उपदफा (१) देहाय खण्ड (घ) बमोजिम कैद र बिगोबमोजिम जरिबानाको  मागदावी लिई आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको हो।