माओवादी स्थिर बस्ने पार्टी होइन : हरिबोल गजुरेल

माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले माओवादी स्थिर बसेर देशको विकास सम्भव नरहेको बताएका छन्।

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का उपमहासचिव हरिबोल गजुरेलले माओवादी स्थिर बसेर देशको विकास सम्भव नरहेको दाबी गरेका छन्। 

बिहीबार कीर्तिपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारसमेत रहेका उनले यस्तो बताएका हुन्। 

उनले पछिल्लो राजनीतिक घटनाक्रमलाई नियालेर आम मानिसहरूले माओवादी केन्द्र अस्थिर भएको भनिरहेपनि अहिलेसम्म माओवादी स्थिर भएको भए देश यो अवस्थामा परिवर्तित हुन नसक्ने दाबी गरे। 

माओवादी स्थिर भएर बसिरहेको भए सेना समायोजन, शान्ति प्रक्रियाका काम अघि नबढ्ने दाबी गर्दै उनले माओवादी कहिले पछि र कहिले अघि बसेर देशको जिम्मेवारी बहन गरिरहेको उल्लेख गरे। 

प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो तेस्रो कार्यकालमा शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउने र बेपत्ताहरूको समस्या समाधान गर्ने प्रतिबद्धता जनाएको उनले बताए। उनले राजनीतिमा अहिले हरेक स्थानमा चुनौती रहेको भन्दै त्यसलाई चिरेर आफू अघि बढ्ने बताए। 

उपमहासचिव गजुरेलले प्रधानमन्त्री दाहालले देशलाई सुशासनतर्फ लैजान नै राष्ट्रिय सहमतिलाई प्राथमिकतामा राखेर अघि बढेको उल्लेख गरे।।