ओलीले संसद् विघटन ठीक थियो भनेपछि नयाँ विकल्प सोच्यौँ : प्रधानमन्त्री

प्रधानमन्त्री दाहालले एमाले अध्यक्ष ओलीले पुस २६ गतेको प्रतिनिधिसभा बैठकमा संसद् विघटन ठीक थियो भनेपछि आफूहरूले नयाँ विकल्प खोजे बताएका छन्।

काठमाडौँ– प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पुस २६ गतेको प्रतिनिधिसभा बैठकमा संसद् विघटन ठीक थियो भन्ने अभिमत जाहेर भएपछि आफूहरूले नयाँ विकल्प खोजेको बताएका छन्।

राष्ट्रपतिमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई विजयी गराउन आठ दलका सांसदको संयुक्त भेलालाई बिहीबार दिउँसो काठमाडौँमा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले पुस २६ गतेको प्रतिनिधिसभामा एमाले अध्यक्ष केपी शर्मा ओलीले व्यक्त गरेको विचारले आफूहरूलाई सोच्न बाध्य बनाएको बताएका हुन्।

“अघिल्लो पटक संविधानविपरीत संसद् विघटन भएपछि हामी सबै संविधान र लोकतन्त्रको पक्षमा उभियौँ। संसद् पुनर्स्थापना गर्न सडकसम्म गयौँ। हाम्रो गठबन्धन लोकतन्त्र र संविधानको रक्षाका निम्ति थियो, विकास र समृद्धिको जनचाहना सम्बोधन गर्न थियो", उनले भने, "तर, बीचमा हामी अलिकति अलमलियौँ, अब ठीक ठाउँमा आएका छौँ। गठबन्धन सुदृढ बनाएर अघि बढ्छौँ।”

उनले राष्ट्रपतिका उम्मेदवार पौडेललाई गठबन्धनमा रहेका आठ दलका साथै आम आदमी र नेपाल समाजवादी पार्टीको समर्थन गर्ने बताए। "स्वतन्त्र सांसदहरूको पनि समर्थन छ। उहाँले निर्वाचन जितिसक्नुभएको छ। यो लोकतन्त्र र संविधानको हितमा छ” प्रधानमन्त्री दाहालले भने।

उनले आफूले प्रधानमन्त्रीमा विश्वासको मत लिइसकेपछि एमाले अध्यक्ष ओलीलाई मिलेर कांग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा निर्वाचित गराउन आग्रह गरेको सुनाए। ओलीले नमानेपछि नयाँ कोर्स निर्माण भएको उनको भनाइ छ। "तपाईं (एमाले अध्यक्ष ओली) र म मिलेर नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा प्रस्ताव गरौँ, मिलेर राष्ट्रिय सहमतिको वातावरण बनाऊँ भनेँ, तर उहाँले मान्नुभएन। त्यसपछि हामी अधिकतम सहमतिका साथ आजको परिस्थितिमा छौँ”, उनले भने।

प्रधानमन्त्रीले दाहालले आफ्ना लागि प्रधानमन्त्री पदभन्दा पनि संविधान र लोकतन्त्रको रक्षा ठूलो कुरा भएको बताए। उनले एमाले अध्यक्ष ओलीले पुस २६ गतेको संसद् बैठकमा संसद् विघटन ठीक थियो भनेपछि आफूहरू सोच्न बाध्य भएको र नयाँ परिस्थिति निर्माण भएको बताए।

“मेरा लागि प्रधानमन्त्री पद ठूलो कुरा होइन, संविधान र लोकतन्त्रको रक्षा ठूलो कुरा हो। पुस २६ गतेको संसद्मा केपीजीले हिजो संसद् विघटन गर्नु ठीक थियो भन्नुभयो। हामी संसद् विघटनको विपक्षमा थियौँ। हामी आफैँले त्यत्रो संघर्ष गरेर संसद् फिर्ता ल्याएका थियौँ", उनले भने, "तर, उहाँले ठीक गरेका थियौँ भनेपछि हामी सोच्न बाध्य भयौँ।"

राष्ट्रपति संस्था संविधान र लोकतन्त्रको रक्षक, राष्ट्रको अभिभावक भए तापनि विगतमा तीता अनुभवहरू रहेको सुनाउँदै प्रधानमन्त्रीले भने, “यसपटक हामीले संविधानको महत्त्व र अन्तर्य बुझेको, लोकतन्त्रका निम्ति लामो संघर्ष गरेको निष्ठावान् नेता उम्मेदवार बनाएका छौँ। उहाँले संविधान र लोकतन्त्रको रक्षाका निम्ति अभिभावकको भूमिका खेल्नुहुनेछ भन्ने हाम्रो विश्वास छ।”