‘पाम नट’ भन्दै सुपारी आयात, भन्सार विभागले थाल्यो अनुसन्धान

एक महिनाअघि भन्सारबाट पाम नट घोषणा गरेर छुटाइएको २८ टन सामग्रीमा शंका लागेर भन्सार विभागले परीक्षण गर्न प्रयोगशालामा पठाएको थियो। प्रयोगशालाले सुपारी भएको पुष्टि गरेपछि विभागले अनुसन्धान अघि बढाएको छ।

काठमाडौँ– नेपालगन्ज भन्सारबाट ‘पाम नट’ (पामको दाना) घोषणा गरी ‘बिटल नट’ (सुपारी) निर्वाध आयात भइरहेको खुलेको छ। सुपारीमा नियन्त्रित आयातको मात्र अनुमति दिइएको छ। यस घटनाबारे भन्सार विभागले अनुसन्धान अघि बढाएको छ। 

स्रोतका अनुसार करिब एक महिनाअघि भन्सारमा पाम नट घोषणा गरिएको ४० फिटको कन्टेनर (करिब २८ टन) मा शंका लागेर भन्सारले परीक्षण गर्न विभागको प्रयोगशालामा पठाएको थियो। प्रयोगशालाले पाम नट नभई सुपारी भएको पुष्टि गरेपछि विभागले अनुसन्धान अघि बढाएको हो।

नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नरबहादुर थापाले शंका लागेपछि परीक्षणको लागि नमूना पठाउँदा पाम नट भनिएको वस्तु सुपारी प्रमाणित भएको बताए। घटनाको मिति, घोषित मूल्य र यसबाट हुने राजस्व क्षतिको विवरण भने उनले बताउन चाहेनन्। 

भन्सार विभागका सूचना अधिकारी रहेका निर्देशक पुण्यविक्रम खड्काले पाम नट भनेर सुपारी आयात भएको प्रकरणमा विभागले प्रयोगशाला परिक्षण रिपोर्ट दिसकेपछि थप कारवाही सम्बन्धित भन्सार कार्यालयले नै गर्ने बताए। अनुसन्धान टोलीले सरसर्ती हेर्दा गत आर्थिक वर्षमा २७ टन, ९ टन र २.७ टनका तीन खेप (कन्साइन्मेन्ट) पाम नट भित्रिएको देखिएको र त्यो सुपारी नै हुनसक्ने विभाग स्रोतको भनाइ छ। “सरसर्ती हेर्दा देखिएको हो, विस्तृत खोज गर्दा धेरै परिमाणमा सुपारी भित्रिएको आशंका छ,” स्रोतले भन्यो।

वाणिज्य मन्त्रालयले दिएको कोटाअनुसार सुपारीको आयात गर्ने अनुमति सुपारीजन्य उद्योगलाई मात्र छ। मन्त्रालयले उद्योगको आवश्यकता मूल्यांकन गरी अवधि र परिमाण तोकेर आयातको इजाजत दिन्छ। 

सुपारी आयातमा प्रतिकिलो १०० रुपैयाँ भन्सार महसुल र अर्को १०० रुपैयाँ अन्तःशुल्कका साथै भ्याट लाग्छ। पाम नटमा मूल्यको १० प्रतिशत भन्सार महसुल र भ्याट तिरे पुग्छ। “आयातमा नियन्त्रित वस्तुको निर्वाध आयात त भएको छ नै, राजस्वमा पनि चुना लगाइएको छ,” नेपालगन्ज भन्सारका एक अधिकृतले भने।

विगतमा विदेशबाट सुपारी आयात गरी भारततर्फ अवैध निकासी गर्ने तस्करीको धन्दा आधा दशक जति चलेको थियो। त्यसपछि सुपारी आयात नियन्त्रित गरिएको हो।