उपरथी शाही २ महिनापछि थुनामुक्त, सेवाबाट बर्खास्त गर्ने सैनिक अदालतको फैसला

सैनिक अदालतले थुनामा वा कारागारमा पठाउने भनेर केही उल्लेख नगरेकाले उपरथी प्रेम शाही रिहा भएको सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए।

फाइल तस्वीर

काठमाडौँ– नेपाली सेनाले दुई महिनादेखि हिरासतमा राखेका उपरथी प्रेम शाही थुनामुक्त भएका छन्। सैनिक अदालतले शाहीमाथि लागेको आरोप टुंग्याएपछि उनी बिहीबार साँझ थुनामुक्त भएका हुन्।

शाहीलाई सैनिक अदालतले सैनिक सेवाबाट भने बर्खास्त गर्ने फैसला सुनाएको छ।

झन्डै दुई महिनादेखि सैनिक हिरासतमा रहेका उपरथी शाहीलाई सैनिक अदालतले बिहीबार नै सेवाबाट बर्खास्त गर्ने फैसला सुनाएको हो। उनीमाथि सेनाले आर्थिक अनुशासन विपरीत आचरण गरेको आरोप लगाएको थियो। सैनिक अदालतले सो आरोपमा दोषी ठहर गर्दै सेवाबाट हटाउने फैसला सुनाएको सैनिक प्रवक्ता, सहायकरथी कृष्णप्रसाद भण्डारीले उकालोलाई बताए।

“उहाँलाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने फैसला सैनिक अदालतबाट भएको छ”, भण्डारीले भने।

सैनिक अदालतले शाहीलाई थुनामा वा कारागारमा पठाउने भनेर केही उल्लेख नगरेकाले उनी रिहा भएको भण्डारीले बताए।

शाहीलाई सैनिक प्रहरीले गत पुस २० गते पक्राउ गरी हिरासतमा राखेको थियो। जन्ममितिसम्बन्धी विवाद देखाएर आफूलाई साबिकभन्दा चाँडै अवकाशमा जान बाध्य पारिएको भन्दै सर्वोच्च अदालतमा रिट दिएका शाही अदालतले उनलाई अवकाशमा नपठाउन आदेश दिएपछि अदालतको पत्र बोकेर जंगी अड्डा गएका थिए। त्यहीक्रममा उनलाई पक्राउ गरिएको थियो।

शाहीमाथि लागेको आरोपबारे छानबिन गरेपछि सैनिक मुख्यालयले उपरथी ताराध्वज पाण्डेको अध्यक्षतामा सैनिक अदालत गठन गरेको थियो। 

यही मुद्दामा जोडेर सेनाले महासेनानी महेन्द्रजंग शाह र प्रमुख सेनानी कुलदीप तिमल्सिनालाई पनि पक्राउ गरेको थियो। उनीहरूलाई पनि सैनिक ऐनविपरीत कार्य गरेको कसुरमा सामान्य कारबाही गर्ने फैसला भएको भण्डारीले बताए।

सैनिक अदालतले उनीहरुलाई सेवाबाट हटाउने फैसला भने गरेको छैन। सैनिक स्रोतका अनुसार उनीहरुको दुई वर्ष बढुवा रोक्का हुनेछ।