सुकुमबासी परिवारकी रिक्जना : जसले अभ्यासबिनै जितिन् ४ स्वर्ण

म्याग्दीको मंगला गाउँपालिका–५ पोक गाउँकी १४ वर्षीया रिक्जना माझीले जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डमा एथलेटिक्सतर्फ चार स्वर्ण जितेकी छन्।

गलेश्वर– म्याग्दी नदीको बाढीले रिक्जना माझीको घरखेत बगायो। दैनिक गुजार चलाउन बुबा तिलक र आमा विष्णु दैनिक मजदुरी गर्न थाले। तर, अभावबीच पनि उनले पढाइ छाडिनन्। 

मंगला गाउँपालिका–५ पोक गाउँकी १४ वर्षीया रिक्जनाले बाआमाको संघर्ष सम्झिँदै पढाइ र खेलकुदमा मेहनत गरिरहिन्। उनले हालै सम्पन्न जिल्लास्तरीय आठौँ राष्ट्रपति रनिङ शिल्डमा एथलेटिक्सतर्फ विभिन्न विधामा चार स्वर्ण पदक जितेकी छन्। त्यति मात्र होइन रिक्जना प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी बनिन्। 

अहिले जिल्लाभर उनको चर्चा चुलिएको छ। मेहनती र लगनशील भए जस्तोसुकै दुःख हन्डर खाएर पनि सफलता हात प्राप्त गर्न सकिन्छ भन्ने उदाहरण बनेकी छन्, रिक्जना।  

माझी परिवार टहरा बनाएर बसेको छ। बाआमालाई मजदुरीमा पनि सघाउँछिन्। बचेको केही समय उनले पढाइ र खेलकुदमा खर्चेको मंगला माविका खेल शिक्षक हर्क छन्त्यालले बताए। 

रिक्जनाको प्रदर्शनका कारण उक्त विद्यालयले एथलेटिक्सको समूहगत खेलमा रजत र कास्य पदकसमेत जितेको छ। “रिक्जनाले अभावै अभावमा पालिकालाई पदक दिलाएकी छिन्। उनी एथलेटिक्सकी भविष्य हुन्,” उनले भने, “अनुभवी प्रशिक्षकको साथ पाए धेरै प्रगति गर्न सक्छिन्।” उनले कुनै अभ्यास र प्रशिक्षणबिनै प्रतियोगितामा भाग लिएको छन्त्यालको भनाइ छ।

रिक्जनाले ट्रिपलजम्प र रिले दौडमा चार स्वर्ण जितेकी हुन्। उनी गण्डकी प्रदेशस्तरीय प्रतियोगिताका लागि छनोट भएकी छिन्। रिक्जनाले माघमा भएको पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्डमा छ स्वर्ण पदक जितेकी थिइन्। 

उनी कक्षा ८ मा अध्ययनरत छिन्। उनकै खेल प्रदर्शनले विद्यालय जिल्लामै तृतीय बन्यो। “घरको काम भ्याएर पढाइ र खेलमा समय दिइरहेकी छु,” रिक्जना भन्छिन्, “अवसर पाएर खेलमा अझै राम्रो गर्न सक्छु।” एथलेटिक्सतर्फ राष्ट्रिय प्रतियोगितामा म्याग्दीलाई पदक दिलाउने लक्ष्य रहेको सुनाइन्। 

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले रिक्जनाको खेल जीवन अघि बढाउन सक्दो सहयोग गर्ने बताए। रिक्जनाले खेलमा राम्रो गर्न सक्ने सम्भावना भए पनि  उनको आर्थिक अवस्था बाधक बनेको छिमेकी श्याम विक बताउँछन्। 

रिक्जनाले गाउँमा उकालोओरालो गरेकै भरमा जिल्लास्तरीय खेलकुद प्रतियोगितामा भाग लिएको छिमेकी श्याम विकले बताए।