प्रहरीले भन्यो– आफन्त वा चिनजानका व्यक्तिसँग मात्र होली खेल्नू

रेलिङ नभएको छत तथा सडकमा र महंगा गरगहना लगाएर होली नखेल्न प्रहरीको अनुरोध छ।

काठमाडौँ– जिल्ला प्रहरी परिसर काठमाडौँले होली पर्व सभ्य र सुरक्षित तरिकाले मनाउन आग्रह गरेको छ। 

प्रहरी परिसर काठमाडौँले सूचना जारी गर्दै होलीका नाममा उच्छृङ्खल गतिविधि नगर्न अनुरोध गरेको हो। सूचनामा आफन्त आत्मीय रूपमा नजिक भएका व्यक्तिसँग मात्र होली खेल्न भनिएको छ। 

“अपरिचित मानिसको समूहमा होली नखेलौँ,” सूचनामा भनिएको छ, “इच्छा विपरीत रंग, लोला, मोबिल, मोसो, केमिकल र फोहोर पानी नलगाऔँ, नछ्यापौँ।” रेलिङ नभएको छत तथा सडक र महंगा गरगहना लगाएर होली नखेल्न प्रहरीको अनुरोध छ। 

नियम विपरीत कार्य गर्ने व्यक्तिलाई कानून बमोजिम सजाय तथा जरिवाना हुने बताइएको छ। यस विषयमा प्रहरीले टोलटोलमा पुगेर जनचेतना फैलाउने कार्यसमेत गरिरहेको छ।