नेपाल आयुर्वेदका लागि उचित गन्तव्य : प्रधानमन्त्री

सरकारले आयुर्वेदलाई संरक्षण र संवर्द्धन गर्न सिंहदरबारस्थित वैद्यखानाबाट अध्ययन अनुसन्धान गरिरहेको प्रधानमन्त्री दाहालले बताएका छन्। 

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल आयुर्वेदका लागि उचित गन्तव्य भएको बताएका छन्।

शुक्रबार काठमाडौँमा शुरू भएको सातौँ अन्तर्राष्ट्रिय आयुर्वेद महासभालाई सम्बोधन दाहालले आयुर्वेदलाई प्राथमिकतामा राख्ने बताए। जलवायु परिवर्तनका कारण नेपालजस्तो मुलुकमा विभिन्न समस्याहरू परिरहेको उनको भनाइ छ।

“जलवायु परिवर्तनले आयुर्वेद क्षेत्रमा पार्ने प्रभाव न्यूनिकरण गर्न सहकार्य आवश्यक छ। नेपाल आयुर्वेद क्षेत्रको प्राकृतिक भूमि हो,” प्रधानमन्त्री दाहालले भने, “नेपालमा पाइने यार्सागुम्बा, अमला, रुद्राक्ष, तुलसी लगायतका अति महत्वपूर्ण वनस्पतिहरू जोगाइराख्न आवश्यक छ। सरकारले आयुर्वेदलाई संरक्षण र संवद्र्धन गर्न सिंहदरबारस्थित वैद्यखानाबाट आफ्ना कामहरू गरिरहेको छ।” 

भारतले पनि नेपाललाई आयुर्वेदका औषधिहरू पाइने मुख्य थलोका रूपमा राखेको उनको भनाइ छ। “भारतले नेपाललाई आयुर्वेद अस्पतालका लागि औषधिहरूको मुख्य थलोका रूपमा राखेको छ। यसलाई हामीले प्रचारप्रसार गर्न आवश्यक छ,” उनले भने।