इजरायलबाट ल्याइएका दुई थान छपाइ मेसिनबाट वार्षिक ६० करोड अन्तः शुल्क स्टिकर छाप्न सकिन्छ।
काभ्रेपलान्चोक– पनौती नगरपालिका–५ मा रहेको सुरक्षण मुद्रण केन्द्र (सेक्युरिटी प्रिन्टिङ प्रेस)मा चैतदेखि अन्तः शुल्क ‘स्टिकर’ छापिने भएको छ।
त्यसका लागि आवश्यक सामग्री तथा जनशक्ति व्यवस्थापन भइरहेको केन्द्रले जनाएको छ। केन्द्रमा दुई वटा उच्च सुरक्षित डिजिटल मुद्रण मेसिन (हाई सेक्युरिटी डिजिटल प्रिन्टिङ मेसिन) जडान भइसकेको छ। शुक्रबार केन्द्रको निरीक्षण गर्दै सञ्चारमन्त्री रेखा शर्माले अन्तः शुल्क स्टिकर छाप्ने प्रक्रिया थाल्न निर्देशन दिएकी थिइन्। “अब जनशक्तिलगायत व्यवस्थापन गरी चैतदेखि छपाइको काम शुरू गर्नुस्,” उनले भनिन्, “थप बजेट सरकारले व्यवस्थापन गर्छ।”
मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले केन्द्रमा क्रमशः राहदानी, बैंक नोट, चालक अनुमति पत्र, स्मार्ट कार्ड, हुलाक टिकट, अन्तः शुल्क स्टिकर, सिम कार्डलगायत सुरक्षित छपाइका लागि तयारी गरिएको बताए। एक वर्षअघि इजरायलबाट ल्याइएका दुई थान छपाइ मेसिनबाट वार्षिक ६० करोड अन्तः शुल्क स्टिकर छाप्न सकिन्छ। हाल आन्तरिक राजस्व विभागबाट ४३ करोड अन्तः शुल्क स्टिकर छाप्न प्रस्ताव आएको केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलले बताए।
केन्द्रमा चैतदेखि छपाइ गर्न कागज, मसीलगायत आवश्यक सामग्रीको टेन्डर आह्वान गरिएको छ। जनशक्ति व्यवस्थापनको प्रक्रियासमेत थालिएको पौडेलले बताए। बहुउद्देश्यीय भवन निर्माण अन्तिम चरणमा पुगेको छ। उक्त बहुउद्देश्यीय भवन भूकम्प प्रतिरोधी, आगोबाट असर नगर्ने ‘स्टिल ट्रस सिस्टम’ गुणस्तरमा निर्माण हुनेछ।
अन्तः शुल्क स्टिकर छाप्ने दुई थान छपाइ मेसिन र एक थान डाई कटिङ प्याकिङ मेसिन ल्याइएको थियो। अघिल्लो आर्थिक वर्षको ७३ करोड रुपैयाँ बजेटबाट उक्त मेसिन तथा केही सूचना–प्रविधिका सामग्री खरिद गरिएको छ।
२०५७ सालमा निर्माण शुरू गरिएको उक्त आइटी पार्क २०६१ सालमा सरकारलाई हस्तान्तरण गरिएको थियो। प्रेस सञ्चालनमा आएपछि सुरक्षित मुद्रणबापत नेपालबाट वार्षिक रूपमा बाहिरिने १० अर्ब रुपैयाँ जोगिने अपेक्षा सरकारको छ।
केन्द्र पूर्ण रूपमा सञ्चालन गर्न २०० प्राविधिकसहित एक हजार जनशक्ति आवश्यक पर्ने जनाइएको छ। २५७ रोपनी जमिनमा अवस्थित पार्कभित्र हाल दुई ठूला व्यापारिक/प्रशासनिक भवन तथा चार सुविधा सम्पन्न आवासीय भवनसहित नौ वटा भवन छन्।
सरकारले सुरक्षण मुद्रणलाई तीन चरणमा विकास गर्न गुरुयोजना तयार पारेको छ। सोहीअनुरूप पहिलो चरणमा नेपाललाई पाँच वर्षभित्र आत्मनिर्भर बनाउने, दोस्रो चरणमा १० वर्षभित्र सुरक्षण मुद्रणसम्बन्धी विश्वसनीय सेवा र गुणस्तरीय सुरक्षण वस्तु सार्क तथा दक्षिण पूर्वी एसियाका राष्ट्रलाई उपलब्ध गराउनेछ।
साथै तेस्रो चरणमा १५ वर्षभित्र सुरक्षण मुद्रणसम्बन्धी विश्वसनीय सेवा र गुणस्तरयुक्त सुरक्षण वस्तु तेस्रो मुलुकमा निर्यात गर्ने सरकारको योजना छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
