बहुदलयता भएका भ्रष्टाचारको स्वतन्त्र छानबिन गरौँ : राष्ट्रियसभा अध्यक्ष

अध्यक्ष तिमिल्सिनाले २०४६ सालयताका भ्रष्टहरूलाई छानबिन गरी कारबाही गर्न दलहरू तयार हुनुपर्ने बताएका छन्।

काठमाडौँ– राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मुलुकमा विद्यमान भ्रष्टाचार अन्त्य गर्न राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन्। उनले संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरू र राज्यको माथिल्लो निकायमा रहेका प्रमुखहरूले भ्रष्टाचारीलाई कारबाही गर्नेगरी सहमति गर्नुपर्ने बताएका हुन्।

भ्रष्टाचारविरुद्ध सांसदहरूको विश्वव्यापी संगठन, नेपाल च्याप्टरले शुक्रबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले २०४६ सालयताका भ्रष्टाचारका घटनाहरूलाई छानबिन गरी कारबाही गर्न दलहरू तयार हुनुपर्ने बताए।

"संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रमुखहरू, पदाधिकारीहरू, राज्यका माथिल्लो निकायमा रहने प्रमुख तथा पदाधिकारीहरूबीच सहमति गरौँ। त्यो सहमति भनेको भ्रष्टाचार नियन्त्रण गर्ने, भ्रष्टाचारलाई कारबाही गर्ने", उनले भने, "बहुदल आएयता आजसम्म जे–जे विषयमा चाहे, त्यो विमान खरिदमा होस्, नियुक्ति गर्दा होस्, जग्गाका कुरा होलान् ती सबैलाई एक ठाउँमा राखेर त्यसमा स्वतन्त्र छानबिन गरौँ।"

भ्रष्टहरूलाई जेलमा पठाउनका लागि पनि राजनीतिक नेतृत्व प्रतिबद्ध हुन सकेको खण्डमा मुलुकमा भ्रष्टाचार नियन्त्रण हुने अध्यक्ष तिमिल्सिनाको भनाइ छ। उनले भ्रष्टाचार नियन्त्रणका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्ता निकायलाई सशक्त बनाउनुपर्नेमा जोड दिए।