बैंक तथा वित्तीय संस्थाविरुद्ध गतिविधि गर्नेमाथि कारबाही हुने

७७ वटै जिल्ला प्रशासन र प्रहरी कार्यालयलाई परिपत्र गरेर आपराधिक गतिविधि रोक्न निर्देशन दिएको गृहसचिव विनोद प्रकाश सिंहले बताए।

काठमाडौँ– गृह मन्त्रालयले बैंक तथा वित्तीय संस्थाविरुद्ध हुने गैरकानूनी गतिविधि रोक्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्था र लघुवित्तविरुद्ध आन्दोलन भइरहेको र केही दिनअघि जाजरकोटमा लघुवित्तका कर्मचारीमाथि कालोमोसो दलेको घटना सार्वजनिक भएपछि गृहले कडाइ गरेको हो।

७७ वटै जिल्ला प्रशासन कार्यालय र नेपाल प्रहरीलाई परिपत्र गरेर आपराधिक गतिविधि रोक्न निर्देशन दिएको गृहसचिव विनोद प्रकाश सिंहले बताए। “त्यस्ता गतिविधि हुन नदिन र आवश्यक निगरानी बढाउन निर्देश गरिएको छ”, गृहसचिव सिंहले भने, “गृह प्रशासनको काम शान्ति सुरक्षा कायम गर्नु हो र निर्बाध रूपमा सेवा गर्ने वातावरण दिनु हो। सोहीअनुसारको निर्देशन गएको छ।”

पछिल्लो समय बैंक तथा वित्तीय संस्था र लघुवित्त विरुद्ध आन्दोलन जारी छ। हालै जाजरकोटमा लघुवित्तका कर्मचारीमाथि कालोमोसो दलिएको घटना सार्वजनिक भएको थियो।