मुस्ताङमा विश्वविद्यालय खोल्ने प्रस्ताव राष्ट्रियतामाथिको प्रहार : ओली

एमाले अध्यक्ष ओलीले मुस्ताङमा विश्वविद्यालय खोल्ने भारतको प्रस्तावलाई स्वीकार गरेर सरकारले 'चीनविरुद्ध गद्दारी गर्न खोजेको' आरोप लगाएका छन्।

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले मुलुकलाई विदेशीको खेल मैदान बनाउन खोजिरहेको आरोप लगाएका छन्।

स्थानीय तह कर्मचारी संघले शनिबार एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले मुस्ताङमा विश्वविद्यालय खोल्ने भारतको प्रस्तावलाई स्वीकार गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले 'चीनविरुद्ध गद्दारी' गरेको र मुलुकलाई 'विदेशीको खेलमैदान' बनाउन खोजेको आरोप लगाएका हुन्। 

“मुस्ताङमा विश्वविद्यालय भनेको विदेशीको दलाली हो। राष्ट्रियतामाथिको प्रहार हो। मित्र राष्ट्र चीनविरुद्धको गद्दारी गर्न खोजेको हो। २०३१ साललाई ठूलो स्केलमा दोहोर्‍याउन खोजेको हो। आफ्नै राष्ट्रको सार्वभौमसत्ता र स्वाधीनतालाई अस्वीकार गरेको हो,” उनले भने, "विश्वविद्यालयको नाममा अर्थोक नै गर्न खोजेको हो। विदेशीको खेल मैदान बनाउन खोजेको हो।"

अध्यक्ष ओलीले मुस्ताङमा रहेको युरेनियमलाई ध्यान दिएर भारतले विश्वविद्यालय खोल्ने चाहेको बताए। “र, यो एउटा बहुतै खतरनाक कुरा हो,” उनले भने। उनले मान्छे नै नभएको ठाउँमा विश्वविद्यालय बनाउने कुरा गरेर सरकारले लाज नै पचाएको टिप्पणी गरे।

उनले प्रधानमन्त्री दाहालले भारतलाई खुशी पार्न त्यहाँबाट आउने तरकारीको चेकजाँच गर्नु नपर्ने आदेश दिएको भन्दै आपत्ति जनाए। नेपाली जनतालाई मारेर भए पनि विदेशीलाई खुशी पार्ने काममा सरकार लागिपरेको अध्यक्ष ओलीको भनाइ थियो।

“बाह्य शक्तिलाई खुशी पार्ने, आफ्ना जनतालाई विषाक्त चीज खुवाएर मार्ने खालको नीति लिएको छ सरकारले। त्यसको हामीले विरोध गर्नु पर्छ, राष्ट्रिय हितको विषयमा हामीले लड्नु पर्छ,” उनले भने।

अध्यक्ष ओलीले कांग्रेस नेतृत्वको आठ दलीय गठबन्धनको कुनै गन्तव्य नभएको तर्क गरे। उनले स्ववियू निर्वाचनमा अनेरास्ववियूलाई विजयी गराउने काममा जुट्न पनि पार्टीका नेता–कार्यकर्तालाई सचेत गराए।

अनेरास्ववियूले मुलुकको राजनीतिक परिवर्तनमा ठूलो योगदान गरेकाले स्ववियू निर्वाचनमा सोही संगठनलाई जिताउन लाग्नुपर्ने उनको भनाइ थियो।