बहालवाला प्रधानमन्त्रीमाथि मुद्दा लगाएर माओवादीसँग निहुँ खोजिँदैछ : बाबुराम भट्टराई

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले तीन वर्ष अघिको एउटा भनाइलाई लिएर प्रधानमन्त्रीमाथि मुद्दा लाउन खोज्नु माओवादीलाई जिस्काउनु भएको टिप्पणी गरेका छन्।

फाइल फोटो।

काठमाडौँ- नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले बहालवाला प्रधानमन्त्रीमाथि मुद्दा लगाउनु भनेको माओवादीलाई जिस्क्याउनु भएको टिप्पणी गरेका छन्।

आइतबार शहीद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनले काठमाडौँमा आयोजना गरेको ‘जनयुद्ध, शहीद तथा बेपत्ता योद्धाको योगदान र नेतृत्वको दायित्व’ विषयक अन्तरक्रियामा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन्। 

उनले तीन वर्ष अघिको भनाइको सामान्य कुरालाई लिएर बहालवाला प्रधानमन्त्रीलाई गिरफ्तार गर्ने मुद्दा लगाऊ भन्नु माओवादी आन्दोलनलाई जिस्क्याउनु भएको बताए। 

पछिल्लो समय माओवादी ‘जनयुद्ध’लाई अपराधीकरण गर्ने प्रवृत्ति हाबी भएको आरोप लगाउँदै उनले यसविरुद्ध सबै माओवादीहरू एक ठाउँमा उभिन आवश्यक रहेको उल्लेख गरे। 

उनले यस्ता मुद्दामा सबै माओवादी एक ठाउँमा उभिनुपर्ने आह्वान गर्दै यी मुद्दामा कार्यगत एकता गरेर अघि बढ्न आवश्यक रहेको बताए।

भट्टराईले भने, “माओवादी जनयुद्धलाई अपराधीकरण गर्ने प्रवृत्ति भएको छ, एउटा बहालवाला प्रधानमन्त्रीमाथि मुद्दा लगाउने हो? तीन वर्ष अघिको भनाइको सामान्य कुरालाई लिएर बहालवाला प्रधानमन्त्रीलाई गिरफ्तार गर्ने मुद्दा लगा भनेर निर्णय गर्नेकुरा भनेको त्या निहुँ खोजेको होइन, जिस्केको होइन त्यो ? यस्ता कुरामा सहकार्य त हामी गर्नसक्छौँ नि।”

पूर्वप्रधानमन्त्री भट्टराईले माओवादी विभाजित भएपनि अब मिलेर जानुपर्ने बेला आएको बताए।

उनले आफ्नो ठाउँबाट सबैले आफ्ना गल्ती र कमजोरीहरू महशुस गरेर अघि बढ्नु नै देश र जनताको लागि कल्याणकारी हुने उल्लेख गरे।