मन्त्री-सांसद पद गुमेसँगै चर्चाबाट टाढिएका रवि लामिछाने के गर्दैछन्?

३३ दिन गृहमन्त्री हुँदा सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा छाइरहने रवि लामिछाने पछिल्लो एक महिना चर्चाबाट टाढा छन्। उनले अधिकांश समय वसुन्धरास्थित रास्वपा पार्टी कार्यालयमा बिताउने गरेका छन्।

निकिता पौडेल, दीपक बोहोरा र रवि लामिछाने। तस्वीर: दीपक बोहोराको फेसबुकबाट

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले ठीक एक महिनाअघि माघ २२ गते पत्रकार सम्मेलन गरेर पार्टी सरकारबाट बाहिरिएको घोषणा गरेका थिए। त्यस यता लामिछाने कुनै पनि सार्वजनिक कार्यक्रममा देखा परेका छैनन्।

बरू, लामिछाने शनिबार चलचित्र छक्कापञ्जा-४ हेर्न तीनधारामार्गस्थित राइजिङ मल पुगेका थिए। छक्कापञ्जाका कलाकार र लामिछानेसहित चलचित्र हलमा खिचिएको तस्वीर उनकी श्रीमती निकिता पौडेलले सामाजिक सञ्जाल फेसबुकमा राखेकी छन्।

लामिछाने गृहमन्त्री हुँदा स्वकीय सचिव रहेका रास्वपा केन्द्रीय सदस्य दीपक बोहोराले पनि शनिबार ट्विट गर्दै लामिछाने र उनकी श्रीमती पौडेलसँग घुम्न गएको तस्वीर सार्वजनिक गरेका छन्। बोहोराले लेखेका छन्, "आफ्टर अ लङ टाइम।"

लामिछानेले एक महिनाअघिको पत्रकार सम्मेलनमा रास्वपा सरकारबाट बाहिरिए पनि समर्थन कायम हुने बताएका थिए। तर यसबीचमा पुस १० गते बनेको नेकपा एमाले र माओवादीसहितको गठबन्धन भत्किएको छ। सरकारलाई दिएको समर्थन एमाले र राप्रपाले फिर्ता लिएका छन्। रास्वपाले भने समर्थन फिर्ता लिएको घोषणा गरेको छैन।

कांग्रेससहितको नयाँ आठ दलीय मोर्चामा पनि रास्वपा सहभागी छैन। राष्ट्रपति निर्वाचनका विषयमा पनि लामिछानेले सक्रियता देखाएका छैनन्, न त कुनै गठबन्धनमा नै रास्वपाको समर्थन छ।

सर्वोच्च अदालतले गएको माघ १३ गते उनले नागरिकता पुन: प्राप्तिको प्रक्रिया पूरा नगरेको फैसला सुनाएपछि गृहमन्त्रीसहित सांसदको पद पनि गुमाएका थिए। उनी निर्वाचित भएको चितवन क्षेत्र नं. २ मा आगामी वैशाख १० मा उपनिर्वाचन हुँदैछ।

गुपचुप उपनिर्वाचनको तयारी!
लामिछाने अहिले पार्टीको कामसँगै निर्वाचनको तयारी पनि गरिरहेको रास्वपाका नेताहरू बताउँछन्। यद्यपि, रास्वपाले उनलाई नै उम्मेदवार बनाउने निर्णय गरिसकेको छैन। तर उनलाई उम्मेदवार हुन पार्टीको निर्णय नचाहिने केन्द्रीय सदस्य बोहोरा बताउँछन्। “निर्णय लिने उहाँ स्वयंले हो। पार्टीले के निर्णय गर्छ?” बोहोरा भन्छन्, “चितवन-२ को लागि उहाँ रास्वपाको तर्फबाट उम्मेदवारी दिनुहुन्छ।”

महामन्त्री मुकुल ढकालले पनि चितवन-२ मा हुने उपनिर्वाचनमा रास्वपाका तर्फबाट लामिछानेले नै उम्मेदवारी दिने बताउँछन्। “हाम्रो पार्टीको तर्फबाट सभापतिज्यू नै उठ्नुहुन्छ। तयारी गरिरहनुभएको छ,” ढकाल भन्छन्।

यसअघि गएको मंसिर ४ मा भएको निर्वाचनमा लामिछाने देशैभरिमध्येबाट सर्वाधिक मतान्तरले निर्वाचित भएका थिए। उनले ४९ हजार २६४ मत प्राप्त गरेका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ९८३ मत प्राप्त गरेका थिए।

सांसदबाट पदमुक्त भएपछि लामिछाने दुईपटक चितवन पुगेको उपसभापति डीपी अर्यालको भनाइ छ। पार्टी संगठनकै काममा लामिछाने चितवन पुगेको उनी बताउँछन्।

अदालतको फैसलापछि लामिछाने माघ २८ मा पहिलोपटक चितवन पुगेका थिए। त्यहाँ सप्ताहा ज्ञान महायज्ञमा समेत सहभागी भएका उनलाई आयोजकले बोल्न लगाएका थिए। संक्षिप्त सम्बोधनका क्रममा उनले भनेका थिए, "मेरो (नागरिकता पुन:प्राप्तिको) प्रक्रियामा त्रुटि भयो होला, तर तपाईंहरूको मतमा खोट छैन।"

त्यसपछि उनी अर्को एकपटक चितवन पुगे पनि सार्वजनिक कार्यक्रममा सहभागी भएनन्।

राष्ट्रपतिको विषयमा ‘पर्ख र हेर’ को रणनीति
राष्ट्रपतिका लागि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ प्रतिस्पर्धामा छन्। रास्वपाले कसलाई मत दिने भन्ने निर्णय अझै गरिसकेको छैन।

नयाँ सरकारका लागि पुस १० गते बालकोटमा गठबन्धन बनाउँदा लामिछानेले जुन सक्रियता देखाएका थिए, त्यसको ठीकविपरीत राष्ट्रपति निर्वाचनमा उनी गुमनामजस्तै छन्। प्रदेशसभामा भाग नलिएको रास्वपाका प्रतिनिधिसभामा १९ सिट छन्। राष्ट्रपति निर्वाचनमा यी सांसदको मतभार १५०१ छ। 

राष्ट्रपतिमा कसलाई सघाउने भन्ने रास्वपाले निर्णय नगरिकसकेको महामन्त्री ढकाल बताउँछन्। तर छलफल चलिरहेको उनको भनाइ छ। 

“राष्ट्रपतिको निर्वाचनमा कसलाई मत दिने निर्णय अझै हामीले गरिसकेका छैनौं। छलफलमै छौँ,” महामन्त्री ढकाल भन्छन्, “दुवै जना राष्ट्रपतिको उम्मेदवार हाम्रो पार्टी कार्यालय आउनुभएको थियो। हामीले दुई जनालाई नै अहिले हामीले कुनै निर्णय नगरेको बताएका छौँ।”

गएको फागुन १३ गते नेपाली कांग्रेसले राष्ट्रपति उम्मेदवार बनाउने निर्णय गरेपछि रामचन्द्र पौडेल त्यही दिन लामिछानेलाई भेट्न उनको निवास हात्तीगौँडा पुगेका थिए। भेटमा लामिछानेले पार्टीमा छलफल गरी निर्णय गर्ने जवाफ दिएका थिए।

पौडेल दोस्रोपटक प्रकाशशरण महत, रमेश लेखक, मीन विश्वकर्मासहितका नेता लिएर मत माग्दै फागुन १९ गते रास्वपा कार्यालय वसुन्धरा पुगेका थिए। त्यस दिन पनि लामिछानेले पार्टीमा छलफलपछि निर्णय गर्ने बताएका थिए।

एमालेका राष्ट्रपतिका उम्मेदवार सुवास नेम्वाङसहितको टोली पनि फागुन १८ गते मत माग्न रास्वपा कार्यालय पुगेको थियो। लामिछानेले एमाले टोलीलाई पनि पार्टीमा छलफल गरेर निर्णय लिने बताएका थिए।

पार्टी कार्यालयमै बित्छ अधिकांश समय
सांसद र मन्त्री पद गएपछि लामिछानेको धेरै समय पार्टी कार्यालयमा नै बित्ने गरेको छ। भेट्न आउनेहरूसँग उनले पार्टी कार्यालयमै बोलाउने गरेको महामन्त्री ढकाल बताउँछन्। 

“राजनीतिक भेटघाटसँगै, औपचारिक भेटघाट पनि गरिहरनुभएको छ। बाहिर पनि मान्छे भेट्नुहुन्छ, तर अधिकांश भेटघाट भने पार्टी कार्यालयमै गर्नुहुन्छ,” ढकाल भन्छन्, “अस्ति राष्ट्रपतिको दुवै उम्मेदवारलाई पनि पार्टी कार्यालयमै भेट्नुभएको थियो।” 

सर्वोच्चले माघ १३ गते नागरिकता पुन:प्राप्तिको प्रक्रिया नपुगेको जनाएपछि लामिछानेले पार्टी सभापति पद पनि गुमाएका थिए। माघ १४ गते शनिबार परेको हुँदा उनले माघ १५ गते जिल्ला प्रशासन कार्यालय पुगेर नागरिकता पुन:प्राप्तिको प्रक्रिया पूरा गरेका थिए। त्यही दिन उनले पार्टी सदस्यता लिएका थिए।

माघ १५ गते नै बसेको केन्द्रीय समिति बैठकले उनलाई केन्द्रीय सदस्य मनोनीत गरेको थियो। त्यसलगत्तै दोस्रोपटक बसेको केन्द्रीय समितिको बैठकले उनलाई फेरि पार्टी सभापति चयन गरेको थियो।