संकटपूर्ण अवस्थामा रहेका शरणार्थीलाई सहयोग अभाव– राष्ट्रसंघ

चाडमा पाँच लाख ७५ हजारभन्दा बढी शरणार्थी रहेका र उनीहरूलाई सहयोग नपुगेको संयुक्त राष्ट्रसंघीय प्रवक्ताले जनाएका छन्।

काठमाडौँ- संयुक्त राष्ट्रसंघले पश्चिम अफ्रिकी देश चाडमा रहेका शरणार्थीको सहयोगका लागि आग्रह गरेको छ। पछिल्लो समयमा देखिएको राजनीतिकलगायतका संकटका कारण यहाँका शरणार्थीको अवस्था निकै संकटपूर्ण रहेको जनाइएको छ।

चाडमा पाँच लाख ७५ हजारभन्दा बढी शरणार्थी रहेका र उनीहरूलाई सहयोग नपुगेको संयुक्त राष्ट्रसंघीय प्रवक्ताले जनाएका छन्। उनका अनुसार यहाँ हरेक दिन शरणार्थीहरू बढ्ने क्रम जारी रहेको छ।   

संयुक्त राष्ट्रसंघीय महासचिवका प्रवक्ता स्टेफान डुजारिकले चाडमा रहेका शरणार्थीको अवस्था नाजुक रहेको भन्दै सहयोगका लागि सबैसँग अपिल गरेका हुन्। उनले चाडमा सन् २०२० का तुलनामा यसवर्ष शरणार्थी बढेर दोब्बर पुगेका पनि बताए।

संयुक्त राष्ट्रसंघले हालै मात्र सरकारहरूले राखेका तथ्यांकमा भन्दा पनि बढी शरणार्थीहरू अफ्रिकी देशहरूमा रहेका र उनीहरूको समस्या समाधानका लागि ठोस पहल हुन नसकेको बताएको एक दिनपछि प्रवक्ता डुजारिकको सो प्रतिक्रिया आएको हो।

राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटरेसका प्रवक्ता डुजारिकले यहाँ पछिल्ला दिनमा शरणार्थीहरूको संख्या बढ्दै गएको भए पनि संयुक्त राष्ट्रसंघीय खाद्य कार्यक्रमले आवश्यकताको १० प्रतिशत मात्र सहयोगको तयारी गरेको बताएका हुन्।

आगामी दिनमा उक्त संख्या थप बढ्ने चेतावनी पनि संयुक्त राष्ट्रसंघले दिएको छ। संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी उच्चायुक्त फिलिपो ग्रान्डीले अफ्रिकी देशमा शरणार्थीको संख्या बढ्दै गएसँगै कतिपय स्थानमा उनीहरूको अवस्था थप अज्ञात तथा नाजुक बन्दै गएको बताएका थिए।

सोमालियमा मात्र यसवर्ष कम्तीमा दश लाख नागरिक खडेरीका कारण विस्थापित भएको तथ्यांक संयुक्त राष्ट्रसंघसँग रहेको छ। सोमालियमा नै आन्तरिक राजनीतिक विवाद र हिंसाका कारण विस्थापित भएकाहरूको संख्या कम्तीमा पनि पाँच लाख रहेको छ।

पछिल्ला केही वर्षयतादेखि चाडमा बाढी-पहिरोको प्रकोप बढेको छ। केही वर्षयताको बाढीबाट चाड प्रभावित भएको छ। र यहाँका नागरिक लाखौँको संख्यामा विस्थापित भएका छन्।