तीन घण्टाभित्र बालुवाटारलाई कालोमोसो दल्दै बालकोटमा रंगोली बनाउन पुग्ने ल्याकत भएको अर्को कुनै नेता बाँकी छ नेपाली राजनीतिमा?
अभिवादन पाठकवृन्द!
वसन्त ऋतुको आगमनसँगै मनाइने फागु पूर्णिमाका दिनबाट उकालोमार्फत म यो नियमित ब्लग शुरू गर्दैछु।
एकादेशमा सामाजिक सञ्जालतिर देखिने 'फागु कि होली?' भन्ने बहस मलाई खुब रोचक लाग्थ्यो– एकथरि कसैले फागुलाई होली भनिदिए रङ नै बेरंगी हुन्छ, पानीको रासायनिक संरचना नै बदलिन्छ झैँ गर्थे। आजकल यस्तो 'शाब्दिक फासीवाद' कमै देखिन्छ शायद। खैर, फागु/होली/फगुवा जे भने पनि यो पर्व मनाउने सबैको व्यक्तिगत आस्था, रुचि हुन्छ।
व्यक्तिगत रूपमा मलाई भने विभिन्न कारणले यो पर्वप्रति खासै लगाव नभएको दशक बढी भयो।
तर, हिजोआज मेरो मन फेरिएको छ। रुचि-अरुचि आफ्नै ठाउँमा छ, हाम्रा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सबैभन्दा मनपर्ने पर्व यही हो भन्ने बुझाइका साथ यसपालि कसैको मिहिनेतमाथि एक लिटर पानी खन्याएर जसोतसो होली मनाउने विचार गरेको छु। आखिर २०६२ सालदेखि अनवरत राज्य-सत्तालाई आफ्नो वरिपरि परिक्रमा गराउन सफल राजनीतिज्ञ हुन् उनी। उनको मनपराइ/नपराई सिधा-साधा जनताको रोजाइमा प्रतिबिम्बित हुने नै भयो।
अब तपाईंले सोच्नुहोला मलाई कसरी थाहा भयो प्रधानमन्त्रीले सबैभन्दा रुचाउने चाड यही हो भनेर?
संसारमा सबै कुरा थाहै हुनुपर्छ भन्ने छैन, म यो 'थाहा हुने' होडबाजीभन्दा धेरै तल छु, किनकि कुराहरूबारे ज्ञान-अज्ञानभन्दा माथि उठेर वैज्ञानिक तवरले कुनै निष्कर्षमा पुग्न पनि सकिन्छ। सोही प्रयोजनका लागि मैले यस विषयमा केही किलो अनुमान लगाएँ, दुईचार थान वेब-अनुसन्धान गरेँ, ध्यान-जप गरेँ, चाही-नचाही प्रचण्डको चरित्रको ‘निर्मम समीक्षा’ र दिमागले भ्याएजति विवेचना गरेँ। र, यस्तो ‘मेन्टल जिम्न्यास्टिक’ गर्दैमा मेरो एक दिनको शनिबारे बिदा बित्यो।
यही निष्कर्ष-प्रधान व्यक्तिले माथि उल्लेख भएअनुसार ‘अनुमानात्मक तर्क’ (डिडक्टिभ रिजनिङ)को माध्यमबाट प्रचण्डको अरू चाडपर्वभन्दा होलीसँग सामीप्य भएको प्रारम्भिक निचोड निकाल्यो।
एकपटक यी प्रश्नहरूलाई हेरौँ; वर्तमान राजनीतिमा दाहाल जतिको अरूलाई रङ दल्न र आफ्नो रङ बदल्न माहिर अर्को कुनै नेता छ? के उनको यस्तो इन्द्रेणी झल्काउने कला फागुका रङहरूमा प्रतिबिम्बित हुँदैनन्? २४ घण्टा छोड्नुस्, तीन घण्टाभित्र बालुवाटारलाई कालोमोसो दल्दै बालकोटमा रंगोली बनाउन पुग्ने ल्याकत भएको अर्को कुनै नेता बाँकी छ नेपाली राजनीतिमा?
यी तीन प्रश्नको उत्तर क्रमशः “छैन, हुन्छन् र छैन” मा आयो भने प्रचण्ड र होलीको सह-सम्बन्ध छ भनेर बुझ्नुपर्ने हुन्छ।
उनी बिहान राजावादी सभामा गए राजा महेन्द्रको रङमा रङिन्छन्, दिउँसो लोकतान्त्रिक मञ्चमा बीपीलाई बिर्साउनेझैँ उदार भइदिन्छन्, अनि बेलुकी वाम एकताको रट लगाउन थाल्छन्। एकछिन सर्वहारा वर्गको उत्थानकर्ता, अर्कोछिन पुँजीवादीहरूको मसिहा बनिदिन्छन्।
रङ बदल्ने मामलामा ‘गिरगिट’ (छेपारो)लाई लज्जाबोध गराउन सक्ने व्यक्तिले होलीभन्दा बढी महत्त्व अरू कुनै उत्सवलाई दिन्छ भन्ने मलाई पटक्कै लाग्दैन।
अर्कोतर्फ, होलीलाई रङहरूको मात्र पर्व नभएर सम्बन्ध नवीकरण गर्ने उत्तम अवसर पनि मानिन्छ। ठूलो मन भएकाहरूले अतीतका तिता गल्ती बिर्सेर नयाँ शुरूआत गर्ने दिन।
यो विधामा हाम्रा प्रधानमन्त्री अझै निपुण, झनै उत्कृष्ट। गिनिजमा ‘सम्बन्ध पुनरुत्थान’ नामक वर्ग हुन्थ्यो भने कम्तिमा एकपटक उनको नाममा रेकर्ड रहन्थ्यो नै।
विशाल हृदयका धनी 'छविलाल'को मनमा नअटाउने कोही छैन।
प्रचण्डका आफ्नै शब्द सापटी लिएर भन्ने हो भने उनलाई कहिले कोसँग ‘डिप लभ’ पर्छ, कहिले कोसँग ‘समाहित’ हुन्छन्, कता अर्कैसँग ‘लिभिङ टुगेदर’को आरोप खेप्छन् त कहिले उनको साह्रै प्रेमिल सम्बन्धमा अदालतले जबरजस्ती ‘डिभोर्स’ गराइदिन्छ। उनको ‘भ्यालेन्टाइन्स् डे’ मनाउने योजना ‘ह्यालोविन’ बन्न पुगेको नजिकी दृष्टान्त नै छ।
तैपनि उनी घुमिफिरी 'धोखेबाज'हरूसँगै पिरती गाँस्न पुग्छन्, सम्बन्ध नवीकरण गर्छन्–त्यो पनि पटक पटक। कति उदार मन!
सत्तासीन भएको दुई-अढाई महिनामा मात्र उनको कतिवटा ‘अफेयर’, ‘ब्रेकअप’ र ‘प्याचअप’ भए, यो हिसाबबारे तपाईंहरू जानकार नै हुनुहुन्छ।
त्यसका साथै होली र प्रचण्डबीच सम्बन्ध उजागर गर्ने अर्को आधारबारे पनि पाठकहरूलाई थाहै छ– खलल पानी हालिदिने। फरक यति हो कि हामी होलीको बहानामा धाराको पानी थापेर चिन्नु-न-जान्नुको बटुवा माथि पानी खन्याएर आफ्नो बेहोरा देखाउँछौँ। उनी हिजोसम्म केही सम्बन्ध नभएका व्यक्ति/समूहलाई नजिक ल्याएर उनीहरूको योजनाका पुलमा बाढी ल्याइदिएर आफ्नो चातुर्य देखाउँछन्।
हालसालै मात्र राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीको राष्ट्र निर्माण गर्ने इच्छा र देश बदल्ने महत्त्वाकांक्षामाथि कसरी प्रचण्डले आँखा चिम्लिएर पानी खन्याइदिए– त्यसबारे विवेचना नजिक भविष्यमा गरौँला।
अहिले यति बुझौँ, प्रचण्ड केवल एउटा व्यक्ति, एउटा पद होइनन्–उनी एउटा विम्ब बनिसकेका छन्। उनी कि कसैलाई औधी मन पर्छन्, कि मनै पर्दैनन्। कि उनी नेपालमा राजनीतिक चेत बीजारोपण गर्ने क्रान्तिका नायक हुन्, कि १७००० को ज्यान जाने गरी भएको द्वन्द्वका खलनायक। उनी कसैका लागि 'बिच्च बिच्चमा' नाच्ने पात्र कदापि होइनन्।
कांग्रेस र एमालेका कार्यकर्ता/समर्थकहरूले आफ्ना शीर्षस्थ नेताद्वयलाई सामाजिक सञ्जालका भित्तामा ‘राजनेता’को पगरी गुथाउन विश्वयुद्ध लडेझैँ लड्न अगाडि सोच्नुपर्ने कुरा हो–प्रचण्डले ज-जसको मुहारमा पटक-पटक 'बुरा ना मानो होली है' भन्दै अबिरको सट्टा रातो खुर्सानीको धुलो दलिदिए, मिठाइ भन्दै धोका खुवाए, पानी भनेर धुर्त्याइँ छ्यापे, ती के का राजनेता, कस्ता राजनेता?
सन्दर्भमा फर्किँदा, रङ दल्न-बदल्न सौखिन हाम्रा प्रधानमन्त्रीले राष्ट्रपति उम्मेदवारको मनोनयनताका देखाएका ‘करतब’ले फागुको माहौललाई अझै रोमाञ्चक बनाइदिएको छ। मेरो होलीप्रतिको वितृष्णा उल्ट्याइदिएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आफ्नो फाइदाका लागि प्रचण्डलाई प्रयोग गर्ने ध्याउन्नमा उल्टै आफैँ कति प्रचण्ड-रङमा रङिने हुन्–समयलाई पनि थाहा नहोला।
समयलाई पनि दिग्भ्रमित पार्ने गुण भएका, यमराज र लक्ष्मीलाई उत्तिकै पुज्ने प्रम प्रचण्डलाई उल्लिखित अनुमानात्मक विवेचनाका आधारमा निर्धारण गरिएको ‘मनपसन्द’ चाडका उपलक्ष्यमा ह्याप्पी होली भन्दै अहिलेका लागि किबोर्ड बन्द गर्दछु। यहीबेला अघोषित लोडसेडिङ पनि शुरू भएछ।
मेरो अर्को ब्लग आउन्जेल देशले नयाँ राष्ट्रपति पाइसकेको हुनेछ, त्यसका लागि हामी सबैलाई अग्रिम बधाई। दुईचार महिना संविधानको रक्षा गरेर भ्याइसकेपछि नवमहामहिममा राष्ट्र/लोकतन्त्रको रक्षा गर्ने उत्कट आकांक्षा पलाउन सक्ने सम्भावना, अथवा अर्को कुनै समसामयिक विषयमा हल्का टिप्पणी लिएर फेरि हप्ता-दिनमा प्रकट हुनेछु।
सद्भाव रहिरहोस्!
नोट: यो ब्लग व्यंग्य हो। कलात्मक अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै लेखकको अनुरोधमा यस ब्लगमा उनको उपनाम प्रयोग गरेका छौँ। सं.
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
