प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेड पुरानो प्रतिद्वन्द्वी लिभरपुलसँग ७-० गोल अन्तरले पराजित भयो। युनाइटेडको यो हार ९२ वर्षयताकै फराकिलो हो।
काठमाडौँ– गत आइतबार न्युकासललाई पराजित गर्दै इंग्लिस लिग कप (काराबाओ कप)को उपाधि जित्दै म्यान्चेस्टर युनाइटेडले ६ वर्षपछि उपाधि चुम्यो। डच प्रशिक्षक एरिक टेन ह्यागको आगमनपछि युनाइटेडले सन् २०१७ यता पहिलोपटक उपाधि जितेको थियो लिग कप।
उक्त उपाधि जित्दा युनाइटेड प्रिमियर लिगमा तेस्रो स्थानमा थियो। क्लबका खेलाडीहरू शुरूआती केही खेल गुमाएर पुन: लयमा फर्किएका थिए। उनीहरू युनाइटेडले प्रिमियर लिगको शीर्ष स्थानमा रहेको आर्सनल र दोस्रो स्थानमा रहेको म्यान्चेस्टर सिटीलाई टक्कर दिनेमा विश्वस्त देखिन्थे। तर, अनुमानहरू गलत साबित भए। जुन डिफेन्डर ल्यूक शले पनि नकार्न सक्दैनन्।
आइतबार प्रिमियर लिगमा युनाइटेड पुरानो प्रतिद्वन्द्वी लिभरपुलसँग ७-० गोल अन्तरले पराजित भयो। युनाइटेडको यो हार ९२ वर्षयताकै फराकिलो हो। यसअघि युनाइटेडले सन् १९३१ मा वोल्भरह्याम्प्टन वान्डरर्ससँग ७-० गोलअन्तरको फराकिलो हार बेहोरेको थियो।
फाइनलमा न्युक्यासल हराएर लिग कप जितेको एक हप्तापछि युनाइटेडले फराकिलो हार बेहोरेको हो। युनाइटेडले पछिल्लो पटक सन् २०१६–१७ को सिजन जोस माउरिन्होको प्रशिक्षणमा युरोपा लिग जितेको थियो। त्यही वर्ष लिग कपको पनि उपाधि जितेको थियो।
"यो नतिजा पूर्णतया अस्वीकार्य थियो। त्यो ट्रफी जित्दा हामी उत्कृष्ठ लयमा थियौँ। तर, अहिले हाम्रो स्तर खस्किएको छ," ल्यूक भन्छन्, "पछिल्ला दुई खेलहरूमा हामी स्वाभाविक रूपमा लयमा छैनौँ।"
इतिहासलाई पल्टाएर हेर्ने हो भने, सन् २०१६ यता खेलिएका ११ खेलमा युनाइटेडले एनफिल्डमा जित निकाल्न सकेको थिएन। आइतबार साँझ एनफिल्डमा पुग्दा प्रशिक्षक ह्याग पनि यो तथ्यबारे जानकार थिए। त्यसैले आफ्ना खेलाडीलाई सतर्कता अपनाएर खेल्न निर्देश गरेका थिए।
तर, लिभरपुलको अग्रपंक्तिले युनाइटेडको रक्षापंक्तिलाई तोडिछाड्यो।
लिभरपुलले पहिलो हाफमा १-० गोल अन्तरको मात्र अग्रता लिएको थियो। घरेलु समर्थकको साथ पाएको लिभरपुल दोस्रो हाफमा झन् आक्रामक बन्यो। लिभरपुलका लागि मोहम्मद सलाह, कोडी गाक्पो र डार्विन न्युनेजले २/२ गोल गरे। रोबर्टो फिर्मीनोले १ गोल थपे।
पहिलो हाफको ४३औँ मिनेटमा गाक्पोले लिभरपुललाई शुरूआती अग्रता दिलाए। त्यसपछि दोस्रो हाफको ५ मिनेटमै न्युनेज र गाक्पोले लगातार गोल गर्दै अग्रता ३-० मा पुर्याए। ६६औँ मिनेटमा सलाहले अर्को गोल थपेपछि लिभरपुल फराकिलो जिततर्फ अगाडि बढ्यो।
७६औँ मिनेटमा न्युनेजले अर्को गोल थपे। त्यसको ७ मिनेटमै सलाहले व्यक्तिगत दोस्रो गोल गरे। र, उनी प्रिमियर लिगमा लिभरपुलका लागि सर्वाधिक गोलकर्ता पनि बने। उनले रोबी फ्लावरको १२८ गोलको कीर्तिमान भंग गरे। खेलको २ मिनेट समय बाँकी रहँदा फिर्मिनोले अर्को गोल गर्दै लिभरपुलाई ७-० गोल अन्तरको फराकिलो जित दिलाए। उनी बेन्चबाट मैदान उत्रिएका थिए।
यस जितसँगै लिभरपुल २५ खेलमा ४२ अंकका साथ पाँचौ स्थानमा उक्लियो। युनाइटेड २५ खेलमा ४९ अंकका साथ तेस्रो स्थानमै यथावत् छ। युनाइटेडका पूर्वकप्तान तथा स्काई स्पोर्ट्सका खेल विश्लेषक रोय केनले लिग कपको सफलताले खेलाडीहरू अत्यधिक हर्षित हुँदा पराजय भोग्नुपरेको टिप्पणी गर्छन्। "दोस्रो हाफमा खेलाडीहरू हाँस्दै र ठट्टा गर्दै खेलेको जस्तो देखियो। मलाई त्यो फोहोर हेर्न मन लागेन," उनले खेलपछि भने।
युनाइटेडका पूर्वकप्तान ग्यारी नेभिलले यो हारलाई ‘खराब प्रदर्शन’ भनेका छन्। “उनीहरूले खतराहरू बुझेका थिएनन्। युनाइटेडका खेलाडीहरूलाई त्यहाँ जिउँदै निलियो,” नेभिलले भने।
प्रशिक्षक ह्यागले एनफिल्डमा ७-० ले लज्जास्पद हार बेहोरेपछि आफ्ना खेलाडीहरूको प्रदर्शनको आलोचना गरेका छन्। “पहिलो हाफ हामीले राम्रो मौकाहरू सिर्जना गर्यौँ र दुई पटक वन-अन-वनको अवसरमा गोल गर्न चुक्यौँ। हाफ टाइमअघि हामीले एक गल्ती गर्यौँ र गोल खायौँ। हाफ टाइमपछि हाम्रो प्रदर्शन एकदमै खस्कियो,” उनले भने।
यस हारसहित ह्यागको चार ट्रफीमा दाबेदारी प्रस्तुत गर्ने अवसर चुक्न पुग्यो। प्रिमियर लिगमा अब युनाइटेडलाई आर्सनल र सिटीलाई चुनौती दिन असम्भव देखिन्छ। यद्यपि, उनी उत्साहित छन्। टोली लयमा फर्किने उनले विश्ववास लिएका छन्। “हामी यसबारे कुरा गर्नेछौँ। यो टोली रिसेट हुन्छ भन्ने मलाई लागेको छ,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
