बालुवाटारमा माओवादी धारका नेताहरूको बैठक जारी, एकताबद्ध हुने विषयमा छलफल

आइतबार एक कार्यक्रममा प्रधानमन्त्री दाहालले माओवादी घटक दल र नेताहरूमाथि घेराबन्दी भइरहेकाले एकजुट हुनुपर्ने धारणा राखेका थिए।

तस्वीर : रासस

काठमाडौँ– प्रधानमन्त्री निवास बालुवाटारमा माओवादी धारका नेताहरूको बैठक जारी छ।

प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आग्रहमा बैठक बसेको उनका स्वकीय सचिव रमेश मल्लले बताए।

“अध्यक्ष ज्यूको आग्रहमा माओवादीबाट फुटेर गएका तथा माओवादीको विचारसँग निकट राजनीतिक दलका नेताहरूको बैठक बसिरहेको छ,” उनले भने, “समसामयिक राजनीतिक विषयमा र माओवादीहरू कसरी एकताबद्ध हुने भन्ने बारे पनि छलफल हुन्छ।” 

बैठकमा सहभागी प्रधानमन्त्री दाहालसँगै पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, नेकपा (क्रान्तिकारी माओवादी)का उपाध्यक्ष सिपी गजुरेललगायत नेताहरू सहभागी छन्। 

पछिल्लो समय प्रधानमन्त्री दाहालले माओवादी घटकहरूलाई एकताबद्ध हुन आग्रह गर्दै आएका छन्। आइतबार एक कार्यक्रममा प्रधानमन्त्री दाहालले माओवादी घटक दल र नेताहरूमाथि घेराबन्दी भइरहेकाले एक हुनुपर्ने धारणा राखेका थिए।

केही दिनअघि सर्वोच्च अदालतले प्रधानमन्त्री दाहालविरुद्ध परेको रिट दर्ता गर्न आदेश दिएको थियो। त्यसपछि माओवादी नेताहरूबीच छलफल बाक्लो हुँदै गएको छ।