रुस–युक्रेन युद्धले धर्मराउँदैछ युरोपेली अर्थतन्त्र

रुस र युक्रेनबीच जारी युद्धको असर युरोपभर नै देखिएको छ। युरोपका कतिपय देशले मुद्रास्फीति भोगिरहेका छन् भने ऊर्जा संकटको सम्भावना उच्च छ।

काठमाडौँ- रुस–युक्रेन युद्धका कारण विश्वभर आर्थिक संकट र महँगी चुलिएको छ। कोरोना महामारीका कारण कमजोर बनेको विश्व अर्थतन्त्रमा रुस युक्रेन युद्धले थप असर पुर्‍याएको छ। युद्धका कारण विशेषगरी युरोपको अर्थतन्त्र डामाडोल बनेको छ।

खाद्यान्न र इन्धनमा अधिकांशरूपमा युक्रेन र रुसमा निर्भर रहँदै आएको युरोपमा युद्धको असर अन्यत्रभन्दा बढी छ। युक्रेनमा रुसले युद्ध शुरू गरेयता युरोप महाद्वीपभर आर्थिक वृद्धिदर कमजोर र मुद्रास्फीति बढेको देखिएको छ। 

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को ‘रिजनल इकोनोमिक आउटलुक’ नामक एक प्रतिवेदनले युरोपले उच्च मुद्रास्फीति र अर्थतन्त्रको सुस्त वृद्धिदरको हानिकारक मिश्रणलाई समयमै सम्बोधन गर्नुपर्ने भनेको छ। साथै, मुद्रास्फीति घटाउन अर्थतन्त्रका नीतिमा व्यापक कडाइ गर्न, कमजोर घरपरिवारहरूलाई सहयोग गर्न र ऊर्जा संकट समाधान गर्न आर्थिक निकायहरूले ध्यान दिन पनि प्रतिवेदनले सुझाएको छ।

युक्रेन र रुस गहुँ उत्पादनमा विश्वमै तेस्रो ठूलो देश हुन्। यस्तै, यी दुई मुलुकले नै विश्वको ७५ प्रतिशत सनफ्लावर तेलको उत्पादन पनि गर्ने गरेका छन्। तर युक्रेन र रुसले युद्धका कारण तटीय क्षेत्रका प्रतिबन्ध र किसानहरूले नियमित रूपमा बालीनाली लगाउन नपाउँदा खाद्यान्न निर्यातमा असर पुगेको छ। यसका कारण विश्वभर नै उपभोग्य सामग्रीमा महँगी बढेको छ। 

उन्नत अर्थतन्त्र भएका युरोपेली मुलुकको आर्थिक गतिविधि र रोजगारीको क्षेत्रमा सुधार नहुँदासम्म सन् २०२३ मा कडा खालको मुद्रानीति अवलम्बन गर्नुपर्ने अर्थविद्हरू सुझाउँछन्।

युरोपेली उन्नत अर्थव्यवस्थामा आगामी वर्ष आर्थिक वृद्धिदर ०.६ प्रतिशतले बढ्ने र उदीयमान अर्थव्यवस्था (टर्की, बेलारुस, रुस र युक्रेन बाहेक) मा १.७ प्रतिशतले बिस्तार हुने विश्व आर्थिक दृष्टिकोणको प्रक्षेपण छ।

यस वर्षको जाडो याममा युरोपका आधाभन्दा बढी मुलुकमा प्राविधिक क्षेत्रतर्फको अर्थतन्त्रसमेत ओरालो लाग्ने अनुमान छ। यी मुलुकहरूमा कम्तीमा लगातार दुई चौमासिकसम्म प्राविधिकतर्फको आर्थिक वृद्धिदर खुम्चिने र औसतमा चरम बिन्दुबाट करिब १.५ प्रतिशत गिरावट आउने प्रक्षेपण छ। क्रोएसिया, पोल्यान्ड र रोमानियाको प्राविधिक अर्थतन्त्रमा अत्यधिक अर्थात् औसतमा ३ प्रतिशत भन्दा बढीको गिरावट देखिनेछ।

अर्को वर्ष युरोपको उत्पादन र आयमा अन्तर्राष्ट्रिय मुद्रा कोषले रुस युक्रेन युद्धअघि तुलना गरेकोभन्दा बढी करिब पाँच खर्ब युरोको गिरावट आउने छ। यो युद्धका कारण युरोपभर देखिएको चरम आर्थिक नोक्सानीको वास्तविक चित्रण समेत हो। अर्को वर्षदेखि महँगी घट्ने प्रक्षेपण गरिरहँदा मुद्रास्फीति केन्द्रीय बैंकको आकलन भन्दा केहीमाथि रहनेछ। यो युरोपेली उन्नत र उदीयमान अर्थव्यवस्थाहरूमा क्रमशः करिब ६ प्रतिशत र १२ प्रतिशतमाथि रहनेछ।
 

पहिले गरिएको एक गम्भीर प्रक्षेपणको तुलनामा अहिलेको वृद्धि र मुद्रास्फीति दुवै थप बिग्रिँदो बाटोमा छन्। त्यसमा सुधार ल्याउन युरोपेली नीति निर्माताहरू ऊर्जा संकट र सुरक्षित ग्यास भण्डारणमा ध्यान दिनुपर्ने बताउँछन्। तर ऊर्जा आपूर्तिमा थप अवरोध आए अर्थव्यवस्थामा थप संकट निम्त्याउने निश्चित छ।

जाडोयामसँगै युरोपमा बाँकी रहेको रुसी ग्यास प्रवाहको पूर्ण बन्दाबन्दीले युरोपको मध्य र पूर्वी अर्थतन्त्रहरूमा ३  प्रतिशतसम्मको कमी, खाद्यान्न र घरेलु उत्पादनमा घाटा हुने पछिल्ला परिदृश्यहरूले देखाउँछन्। यसबाहेक युरोपेली महाद्वीपमा अर्को मुद्रास्फीतिको परिणाम पनि निम्त्याउन सक्छ।

कुनै नयाँ ऊर्जा आपूर्तिमा अवरोध नहुँदा पनि महँगी बढ्ने र कायमै रहन पनि सक्छ। अधिकांश समय मुद्रास्फीतिको कारण उपभोग्य सामग्रीको भाउ बढ्नु नै हो। यसमा सबैभन्दा पहिले इन्धन र खाद्यान्न हो। जुन विशेषगरी पश्चिमी बाल्कन मुलुकहरूबाट आयात हुने गर्छन्।

आइएमएफका अनुसार विश्व अर्थतन्त्रको वृद्धिदर सन् २०२१ मा ६ प्रतिशत रहेकोमा सन् २०२२ मा घटेर ३.२ प्रतिशतमा सीमित हुने अनुमान गरिएको छ भने सन् २०२३ मा २.७ प्रतिशतसम्म खस्कने अनुमान गरिएको छ। जुन पछिल्लो दुई दशकयताकै सुस्त वृद्धि हो। 

विश्व मुद्रास्फीति दर यस वर्ष ८.८ प्रतिशत कायम हुने आइएमएफको अनुमान छ। सन् २०२३ मा भने त्यो घटेर ६.५ प्रतिशतमा सीमित हुने अनुमान छ।
 

केही महिनासम्म सामग्रीको मूल्य महँगो नै हुने तर सन् २०२३ पनि मुद्रास्फीति केही घट्ने अर्थविद्हरूको अनुमान छ। यद्यपि विश्वको आर्थिक मन्दी नरोकिने भन्दै विभिन्न प्रतिवेदन सार्वजनिक भइरहेका छन्। विशेषगरी युरोपमा महँगी घट्ने विषयमा धेरैको शंका छ।

करिब ४० प्रतिशत इन्धन आपूर्तिमा युरोप रुसमै निर्भर छ। युरोपेली देश जर्मनी रुसको ग्यासमा ६५ प्रतिशत निर्भर छ। सन् २०२१ मा मात्रै युरोपले रुसबाट १५ करोड ५० लाख क्यूबिक मिटर ग्यास आयात गरेको थियो। खाद्यान्न र इन्धनमा रुस र युक्रेनमै भर पर्नुपर्ने भएकाले युद्धले पूर्ण रूपमा असर पुर्‍याएको छ।