डा. रुइतले संसारभरका पर्यटकको मुख्य आकर्षण र गन्तव्यका रूपमा ताप्लेजुङलाई चिनाउने र विकसित गर्ने आफ्नो इच्छा रहेको बताएका छन्।
ताप्लेजुङ– आफू जन्मे–हुर्केको गाउँको माया सबैलाई हुन्छ। त्यही भूगोलसँग बलियो भावनात्मक सम्बन्ध हुन्छ। गृहनगरको प्रेम शक्तिशाली र स्थायी हुन्छ भन्ने कुरा आफ्नो जन्मिएको, हुर्किएको गाउँमा फर्किएकाहरूले प्रस्टै झल्काउँछन्।
यस्तै माया लिएर जन्म गाउँ आएका छन्, डा. सन्दुक रुइत। “आफू जन्मे–हुर्केको ठाउँको माया सबैलाई लाग्छ, मलाई पनि त्यो मायाले तानेर बेला–बेलामा जन्मे हुर्केको गाउँमा ल्याउँछ,” गृहजिल्ला आएका उनले भने। उनलाई आफ्नो भूगोल र समुदायको शिर उच्च राखेकामा खुशी व्यक्त गर्दै आफन्त तथा गाउँलेले भव्य स्वागत गरे।
डा. रुइतलाई लामो समयपछि जन्मेको गाउँमा पुग्दा जति उत्साह थियो उति नै आफन्तलाई पनि। उनलाई स्वागत गर्न गाउँभरका आफन्त एकै ठाउँमा जम्मा भएका थिए। उनले गाउँमा आँखा शिविर पनि सञ्चालन गरे। मोतिया बिन्दुको समस्यामा परेका ७० जना बिरामीको शल्यक्रिया गरे। गाउँमा फर्किएर ज्योति दिएकामा उनीप्रति गाउँलेले खुशी व्यक्त गरे।
यस्तै, शिविरमा दुई हजार ४०० जनाले आँखाको जाँच तथा उपचार सेवा लिएका थिए। “उहाँले यो दुर्गम ठाउँमा निःशुल्क शिविर चलाएर हाम्रो आँखाको ज्योति मात्र फर्काइदिनुभएन नयाँ जीवन नै दिनुभयो,” स्थानीय साङगे शेर्पाले भने, “डा. रुइत हाम्रो आँखाको ज्योति लिएर गाउँ आउनुभयो।”
जन्मभूमिप्रति आफ्नो छुट्टै दायित्व रहने डा. रुइतको भनाइ छ। सानो छँदै मनभरि गाउँको माया र सम्झनाको भारी बोकेर उज्यालो भविष्यका लागि गाउँ छाडेका उनी विश्व प्रतिष्ठित ‘इसा अवार्ड’ प्राप्त गरेपछि पहिलो पटक जन्मथलो ओलाङचुङगोला पुगेका हुन्। राज्यको नजर आफ्नो जिल्लाको भीरपाखा र दूरदराजका गाउँमा नपुग्दा दुःख लागेको उनले बताए।
“सुदूरपूर्वी यस क्षेत्रका नागरिकलाई धेरै दुःख छ, यो ठाउँमा राज्यको पनि आँखा पुगेको छैन,” उनले भने, “विश्वको तेस्रो अग्लो कञ्चनजंघा हिमाल, तमोर कबेलीजस्ता नदीनाला, पाथीभरा, दिकिछ्योलिङ गुम्बा रहेको यो जिल्ला जैविक विविधताले भरिपूर्ण छ, यसको प्रवर्द्धन हुनुपर्छ, नागरिकको जीवनस्तर उकास्नुपर्छ।”
यहाँका नागरिकको जीवनस्तरलाई कसरी उकास्न सकिन्छ भन्ने आफूलाई चिन्ता भएको उनले धारणा राखे। संसारभरका पर्यटकको मुख्य आकर्षण र गन्तव्यका रूपमा यस जिल्लालाई चिनाउने र विकसित गर्ने आफ्नो इच्छा रहेको डा. रुइतको भनाइ छ।
“यसले यहाँको आर्थिक गतिविधि बढ्नुका साथै नागरिकहरू गुणस्तरीय स्वास्थ्य, शिक्षाको पहुँचमा पुग्ने र आत्मनिर्भर हुने बाटो खुल्छ,” उनले भने, “पर्यटन र अन्तर्देशीय व्यापार प्रवर्द्धनका लागि मुख्य रूपमा तमोर कोरिडोरको चाँडो निर्माण सम्पन्न हुनुपर्छ।”
सडक छिटो सम्पन्न भए टिपताला नाका हुँदै आयात–निर्यात हुने र यसले यहाँका जनतालाई फाइदा पुग्ने उनको भनाइ छ। तमोर कोरिडोर ओलाङचुङगोलासँग जोडिन करिब तीन किलोमिटर बाँकी छ।
कुनै समय उत्तरी चीनसँगका विभिन्न नाकाहरूलाई तिब्बतसँग जोडिएको टिपताला नाकाले लिड गर्ने गरेको तर हाल बन्द अवस्थामा रहेको सुनाउँदै उनले यसलाई खोल्न सरकारले कूटनीतिक रूपमा पहल गर्नुपर्ने बताए।
सपनाझैँ लाग्छन् गाउँघरका पहाड र विगत
सात वर्षको हुँदा उनका बुबाले डा. रुइतलाई पढाउन १५ दिन लगाएर दार्जिलिङ पुर्याएका थिए। उनलाई त्योबेला लेलेप, तापेथोक, मित्लुङ, ताप्लेजुङ बजार, पाँचथर हुँदै दार्जिलिङ जाँदाको क्षण अलिअलि याद छ। बाटोमा हिँड्दै गर्दा बुबाले माथि–माथिका डाँडा हेर्दै विभिन्न नाम लिएर देखाएका गाउँ सम्झिँदा मनमनै सपनामा बसेका ठाउँजस्तो लाग्ने उनी बताउँछन्।
“आँखा उपचारमा आएकाले आफ्नो गाउँको नाम सुनाउँदा सानैमा आफ्ना बुबाले सुनाएको गाउँको नाम याद आयो, पहिले ती ठाउँहरू विकट थिए, मुस्किलले हिँड्नपर्थ्यो, अहिले केही ठाउँमा गाडी गुड्ने सडक पुगेको छ, कतिपय बिरामी मुस्किलले हिँडेर टाढा–टाढाबाट आउनुभएको पाएँ”, डा. रुइतले भने।
त्योबेला गाउँमा जाने पैदल बाटो पनि त्यति सहज थिएन। गाउँमा बिजुली, टेलिफोन कुरै भएन। याक, चौँरीपालन, जडीबुटी संकलन मुख्य पेसा थियो। तिब्बतमा आफ्ना उत्पादन बेचेर नुन, तेल र खाद्यान्नलगायत अन्य सामान ल्याउने गर्थे। अझै पनि यहाँका दूर दराजका गाउँका नागरिक गुणस्तरीय शिक्षा स्वास्थ्यको पहुँचमा छैनन्।
राम्रो पठनपाठन, स्वास्थ्योपचारका लागि कम्तिमा सदरमुकाम फुङलिङसम्म नै आउनुपर्छ। ओलाङचुङगोला, याङमा घुन्साजस्ता गाउँबाट तीन दिन लगाएर सदरमुकाम आउनुपर्छ। ओलाङचुङगोलाबाट १५ दिनको समय लगाएर दार्जिलिङ पुगेर शिक्षा आर्जन गरेका डा. रुइतले आफूलाई चिकित्सा विज्ञानमा समर्पित गरे।
विभिन्न ठाउँमा अध्ययन र सेवासँगै अस्ट्रेलियामा एक वर्षको अध्ययनपछि नेपाल फर्किएर काठमाडौँमा आँखा चिकित्सालयको स्थापना गरे। उनी अहिले तिलगंगा आँखा प्रतिष्ठानको संस्थापक एवं नेत्ररोग विशेषज्ञका रूपमा विश्वभर परिचित छन्।
उनले एक लाखभन्दा बढी मानिसको आँखाको ज्योति पुनः स्थापित गरिसकेका छन्। विभिन्न राष्ट्रिय–अन्तर्राष्ट्रिय पुरस्कार पाइसकेका उनी पछिल्लो पटक प्रतिष्ठित इसा अवार्डबाट सम्मानित भए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
