‘ए’ डिभिजन लिग : थ्रीस्टारले फ्रेन्ड्ससँग अंक बाँड्यो

'ए' डिभिजन लिगमा थ्रीस्टार र फ्रेन्ड्स क्लबले ३-३ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्।

काठमाडौँ– तीनपटकको अग्रता जोगाउन नसक्दा थ्रीस्टारले शहीद स्मारक 'ए' डिभिजन लिगमा फ्रेन्ड्स क्लबसँग अंक बाँडेको छ। च्यासल मैदानमा मंगलबार सम्पन्न खेलमा थ्रीस्टार र फ्रेन्ड्स क्लबले ३-३ गोलको बराबरी खेलेका हुन्।

थ्रीस्टारका मार्टिन्स अजयी, योगेश गुरुङ र प्रदीप लम्सालले गोल गरे। फ्रेन्ड्सका कुशल फुयालले २ र उज्वेकिस्तानका अक्रोरबेक उक्तामोभले १ गोल गरे।

खेलको दोस्रो मिनेटमै अजयीले थ्रीस्टारलाई शुरूआती अग्रता दिलाएका थिए। १४औँ मिनेटमा कुशलले बराबरी गोल फर्काए। २४औँ मिनेटमा योगेशले पुन: थ्रीस्टारलाई अग्रता दिलाए।

पहिलो हाफको निर्धारित समय सकिन २ मिनेट बाँकी रहँदा उक्तामोभले गोल फर्काए।

पहिलो हाफमै चार गोल भएको खेलको दोस्रो हाफमा थप दुई गोल भएको थियो।

खेलको ८७औँ मिनेटमा प्रदीपले गोल गर्दै थ्रीस्टारलाई ३-२ को स्थितिमा पुर्‍याए। दोस्रो हाफको अतिरिक्त समयमा कुशलले गोल गर्दै थ्रीस्टारबाट अंक खोसे।

थ्रीस्टार पहिलो खेलमा विभागीय टोली एपीएफसँग २-० गोलअन्तरले पराजित भएको थियो। फ्रेन्ड्स उद्घाटन खेलमा नवप्रवेशी क्लब एफसी खुमलटारसँग १-० गोलअन्तरले पराजित भएको थियो।

जितसँगै दुवै टोलीले १/१ अंक जोडेको छ।