‘ए’ डिभिजन लिग : चर्च ब्वाइज शीर्ष स्थानमा, आशिषको २ गोल

चर्च ब्वाइजले खुमलटारलाई ३-१ गोल अन्तरले पराजित गरेको छ। २ खेलबाट ६ अंक जोडेको चर्च ब्वाइज अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ।

काठमाडौँ– आशिष चापागाईंको दुई गोलसँगै नवप्रवेशी चर्च ब्वाइजले शहीद स्मारक 'ए' डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार सम्पन्न खेलमा चर्च ब्वाइजले अर्को नवप्रवेशी क्लब एफसी खुमलटारलाई ३-१ गोल अन्तरले पराजित गरेको हो।

चर्च ब्वाइजको जितमा आशिष चापागाईंले २ गोल गरे। एरिक विष्टले चर्च ब्वाइजका लागि एक गोल थपेका थिए। खुमलटारका मेसुके ओलोमोउको गोल सान्त्वना रह्यो।

खेलको ११औँ मिनेटमै गत वर्ष सम्पन्न ‘बी’ डिभिजन लिगमा सर्वाधिक गोलकर्ता बनेका आशिषले चर्च ब्वाइजका लागि शुरूआती अग्रता दिलाएका थिए। १८औँ मिनेटमा एरिकले गोल गर्दै चर्च ब्वाइजको अग्रता २-० मा पुर्‍याए।

तर, ४०औँ मिनेटमा मेसुकेले गोल गर्दै खुमलटारलाई खेलमा फर्काउने संकेत दिए। जारी लिगमा उनको यो दोस्रो खेल हो। यसअघि उनले फ्रेन्ड्स क्लबविरुद्ध गोल गरेका थिए।

दोस्रो हाफमा चर्च ब्वाइजले १ गोल थप्यो। ७१औँ मिनेटमा आशिषले व्यक्तिगत दोस्रो गोल गर्दै चर्च ब्वाइजको अग्रता ३-१ मा पुर्‍याए।

बाँकी समय दुवै टोलीबाट थप गोल हुन सकेन। जितसँगै चर्च ब्वाइजले २ खेलबाट ६ अंक जोडेको छ। चर्च ब्वाइज अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ।

चर्च ब्वाइजले पहिलो खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई २-१ गोल अन्तरले पराजित गरेको थियो।

पराजित खुमलटारको २ खेलबाट ३ अंक छ। उद्घाटन खेलमा खुमलटारले फ्रेन्ड्स क्बललाई १-० गोल अन्तरले पराजित गरेको थियो थियो।