कालीगण्डकी प्रसारण लाइन : फलेवासमा भइरहेको अवरोध हट्ने

फलेवास–६ देवीस्थानस्थित विद्यालय र रंगशालामा क्षति पुग्ने भन्दै स्थानीयले प्रसारण लाइनको रुट सार्न माग गरेका थिए।

फाइल तस्वीर

पर्वत– राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी प्रसारणअन्तर्गत कुश्मा–बुटवल खण्डको फलेवासमा भइरहेको अवरोध हट्ने भएको छ। 

काली गण्डकी करिडोर २२० केभी प्रसारण लाइन आयोजना निर्माणमा फलेवास नगरपालिका–६ का स्थानीयले अवरोध गरेपछि तीन वर्षयता काम ठप्प बनेको थियो। फलेवास–६ देवीस्थानस्थित विद्यालय र रंगशालामा क्षति पुग्ने भन्दै स्थानीयले प्रसारण लाइनको रुट सार्न माग गर्दै निर्माणमा अवरोध गरेका थिए। 

स्थानीयको अवरोधका कारण त्यहाँ प्रसारण लाइनका चार वटा टावर निर्माण हुन सकेका छैनन्। लामो समयसम्म काम अघि बढ्न नसकेपछि नेपाल विद्युत् प्राधिकरणको टोलीले पहल थालेको हो। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको टोलीले स्थानीयसँग छलफल गरेको थियो। 

कालीगण्डकी र यसका सहायक खोलामा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् प्रवाहका लागि यो लाइन महत्त्वपूर्ण छ। लाइन अभावमा आयोजनाको विद्युत् प्रवाह नहुँदा मुलुकलाई ठूलो क्षति भइरहेकाले सहयोग गर्न कार्यकारी निर्देशक घिसिङले अनुरोध गरेका थिए। 

प्रसारण लाइनको टावर सार्ने वा नसार्ने विषयमा प्राविधिक टोलीले पाँच दिनभित्रमा सर्वेक्षण सम्पन्न गर्ने सहमति भएको छ। 

“प्रसारण लाइनमुनि विद्यालय पर्छ भन्ने स्थानीयको कुरा थियो। तर स्थलगत निरीक्षणका क्रममा विद्यालय नपर्ने देखिएको छ,” घिसिङले भने, “सर्वेक्षण सम्पन्न भएपछि विद्यालयलाई प्राथमिकतामा राखी प्राविधिक रूपमा सम्भव भएसम्म टावरलाई रंगशालाको डिलतर्फ च्यापेर टावर निर्माण गर्ने सहमति भएको छ।” 

नेपाल सरकार, प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाबाट पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटसम्म ३९.६ किलोमिटर खण्ड सञ्चालनमा आइसकेको छ।

खुर्कोटमा २२०/१३२ केभी र दानामा २२०/१३२/३३ केभी सबस्टेसन निर्माण गरिएको छ। दोस्रो खण्डअन्तर्गत कुश्माबाट नवलपरासीको सुनवल नगरपालिका–१३ भुमहीस्थित (नयाँ बुटवल सबस्टेसन)सम्मको ८८ किलोमिटर प्रसारण लाइन निर्माण अन्तिम चरणमा छ। 

यस खण्डका २३५ टावरमध्ये फलेवासमा पर्ने चार वटाको निर्माण बाँकी छ। प्रसारण लाइन असारभित्रमा सम्पन्न गर्ने गरी काम भइरहेको आयोजना प्रमुख चन्दन घोषले जानकारी दिए।