चीनलाई दबाउँदैमा अमेरिका महान् बन्दैन : चिनियाँ विदेशमन्त्री

विदेशमन्त्री बनेपछि पहिलोपटक पत्रकार सम्मेलन गर्दै विदेशमन्त्री किन गाङले रुस, अमेरिका र युरोपियन युनियनसँग चीनको सम्बन्ध तथा युक्रेन संकट र ताइवानको अवस्थाबारे चिनियाँ धारणा राखेका छन्।

चिनियाँ विदेशमन्त्री किन गाङले चीनलाई दबाउँदैमा अमेरिका महान् नहुने र यसले चीनको उत्साह नरोक्ने बताएका छन्। 

अमेरिकाका लागि चिनियाँ राजदूतसमेत बनिसकेका किनले विदेशमन्त्रीका रूपमा मंगलबार पहिलोपटक पत्रकार सम्मेलन गर्दै यस्तो बताएका हुन्।

पत्रकार सम्मेलनमा किनले मुलुकको कूटनीति र विदेशी सम्बन्धबारे स्पष्ट धारणा राखेको र विशेष गरी चीनको रुस, अमेरिका, युरोपियन युनियन (ईयू), युक्रेन संकट र ताइवानको अवस्थाबारेका विषयमा बोलेको ग्लोबल टाइम्सले लेखेको छ।

अमेरिकी आकाशमा चिनियाँ बेलुन देखिएको घटनापछि थप खराब बनेको अमेरिकी-चिनियाँ सम्बन्ध सुधारको कुनै सम्भावना छ छैन भन्ने प्रश्नको जवाफमा किनले भने,  “अमेरिकाले चीनलाई प्रमुख शत्रु र भूराजनीतिक चुनौतीका रूपमा हेर्ने गरेको छ। यो भनेको सर्टको पहिलो टाँक नै गलत स्थानमा लगाएको जस्तो हो”, विदेशमन्त्री किन थप्छन्, “यदि अमेरिकाले आफ्ना गतिविधि नरोकी हामीविरुद्ध यस्तै रवैयालाई निरन्तरता दिने हो भने उसलाई कुनै पनि बारले छेक्न सक्दैन। र आपसी द्वन्द्व बढ्ने निश्चित छ। यसको विनाशकारी परिणाम कसले बेहोर्ने?”

बेलुन घटनाले निम्त्याएको तनाव र कूटनीतिक संकटलाई टार्न सम्भव रहेको बताउँदै उनले अमेरिकाले यसमा पहिले नै ‘दोषी धारणा’ बनाइसकेको बताए। 

अमेरिकी आकाशमा देखिएका बेलुनलाई वासिङ्टनले पहिले अमेरिकी सार्वभौमिकताको स्पष्ट उल्लंघन र चिनियाँ जासुसी बेलुन भनेर व्याख्या गरेको थियो। तर, चीनले मौसमसम्बन्धी सूचना संकलनका लागि पठाइएको नागरिक विमान अमेरिकी आकाशमा पुगेको प्रतिक्रिया दिँदै माफी मागेको थियो।

यसै विषयमा सोमबार चिनियाँ राष्ट्रपति सी चिनफिङले पनि ‘अमेरिका समर्थित पश्चिमा मुलुकहरूले चीनविरुद्ध चौतर्फी नियन्त्रण, घेराउ र दबाब सिर्जना गरेको र यसले गम्भीर चुनौती खडा गरेको’ भनेका थिए।

यसैबीच, युक्रेन संकटबारेको प्रतिक्रियामा चिनियाँ विदेशमन्त्री किनले युक्रेनको संकटमा कुनै अदृश्य हात रहेको बताए तर कुनै देश वा व्यक्तिको नाम भने लिएनन्। यस्तै, चीनले कुनै पनि पक्षलाई कुनै हातहतियार उपलब्ध नगराएको उनको भनाइ थियो। उनले चीनले शान्ति वार्तालाई अघि बढाउन चाहेको बताए। 

यस्तै, ताइवानमा आफैँले हतियार बेच्दै आएको अमेरिकाले रुसलाई चीनले हतियार पठाउनसक्ने कुराको किन विरोध गर्छ भन्ने प्रश्नमा उनले भने, “युक्रेनको संकट गम्भीर मोडमा आइपुगेको छ। युद्धविरामले मात्रै युद्ध अन्त्य हुने देखिन्छ। , यसले शान्ति स्थापना र राजनीतिक सम्झौता हुनेछ। आगोमा घ्यू थप्ने कार्य मात्रै भइरहे संकट थप बढ्ने र नियन्त्रण हराएको रसातलमा फस्ने निश्चित छ।”

सन् २०२२ को डिसेम्बरमा चिनियाँ विदेशमन्त्रीमा नियुक्त भएका ५६ वर्षीय किन चिनियाँ इतिहासमै यस पदमा नियुक्तमा भएका कान्छा व्यक्ति समेत हुन्। चिनियाँ राष्ट्रपति सी चिनफिङका विश्वासपात्र मानिएका किन कडा रूपमा प्रस्तुत हुने कूटनीतिज्ञका रूपमा परिचित छन्।