युक्रेनको बाख्मुत शहर रुसी नियन्त्रणमा

बाख्मुतलाई रुसको नियन्त्रणमा जान नदिन युक्रेनले निकै प्रयास गरिरहेको थियो।

रुसले युक्रेनको बाख्मुत शहरलाई पूर्ण रूपमा नियन्त्रणमा लिएको दाबी गरेको छ। बाख्मुत नदीभन्दा पूर्वतर्फको सम्पूर्ण क्षेत्र रुसले पूर्ण रूपमा कब्जा गरेको रुसी सेनालाई उद्धृत गर्दै रुसी मिडिया तासले उल्लेख गरेको छ। यद्यपि, अहिले त्यस क्षेत्रमा ठूलो भिडन्त भइरहेको बताइएको छ।

एर्तोमोभ्स्क क्षेत्र भनेर चिनिने बाख्मुत शहर, किभको नियन्त्रणमा रहेको दोनेत्स्क पिपुल्स रिपब्लिकको एक भाग हो जुन डनबासका युक्रेनी सेनाका लागि प्रमुख यातायात हब पनि हो। रुसका अर्धसैनिक बलले बाख्मुतलाई नियन्त्रणमा लिएको अल जजिराले जनाएको छ।

यसअघि फेब्रुअरी १६ मै दोनोत्स्कका अधिकांश महत्त्वपूर्ण उच्चस्थान रुसी सेनाले नियन्त्रणमा लिइसकेको दोनेत्स्कका प्रमुख कार्यकारी डेनिस पुसिलीनले बताएको तासले उल्लेख गरेको छ।

बाख्मुतलाई रुसको नियन्त्रणमा जान नदिन युक्रेनले निकै प्रयास गरिरहेको थियो। रुसले बाख्मुतलाई पूर्ण रूपमा कब्जामा लिएकोबारे युक्रेनी पक्षको प्रतिक्रिया आएको छैन।

यसअघि मंगलबार युक्रेनी राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले रुसले बाख्मुत शहर कब्जा गरे उनीहरूलाई पूर्वी युक्रेनमा प्रवेशका लागि बाटो खुल्ने बताएका थिए। यद्यपि, त्यहाँ अन्तिम अवस्थासम्म लड्ने जेलेन्स्कीको भनाइ थियो।

रुसी रक्षामन्त्री सेर्गेइ सोइगुले पनि मंगलबार त्यस क्षेत्रमा प्रतिरक्षा गर्न र थप कारबाही बढाउन बाख्मुत शहरलाई नियन्त्रणमा लिन जरुरी रहेको बताएका थिए।