महोत्तरीको भंगहामा अनिश्चितकालीन कर्फ्यू जारी

महोत्तरीका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले बिहीबार ४ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यूको आदेश जारी गरेका हुन्।

काठमाडौँ- महोत्तरीको भंगहा नगरपालिकामा अनिश्चित कालका लागि कर्फ्यू जारी गरिएको छ।

भंगहा-८ स्थित पररियामा दुई पक्षबीचको झडपले उग्र रूप लिएपछि जिल्ला प्रशासन कार्यालय महोत्तरीले कर्फ्यू आदेश जारी गरेको हो। महोत्तरीका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले बिहीबार ४ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यूको आदेश जारी गरेका हुन्।

उनले बिहीबार भंगहा-८ मा सम्प्रादायिक सद्भाव खलल पुग्ने गरी दुई पक्षबीच झडप भएको उल्लेख गरेका छन्। घटना दोहोरिन नदिन र जनधनको क्षति हुनबाट रोक्न अत्यावश्यक सेवाबाहेक भेला, जुलुस, प्रदर्शन, घेराउ, र्‍याली, सभाजस्ता क्रियाकलाप गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ क बमोजिम कर्फ्यू जारी भएको प्रजिअ पहाडीले जानकारी दिए। कर्फ्यू उल्लंघन भए कानुनबमोजिम कारबाही हुने पनि प्रशासनले चेतावनी दिएको छ।

दक्षिणमा पररियाको सम्पूर्ण क्षेत्र, उत्तरपूर्व ब्रम्हस्थान पररिया र उत्तरमा धर्मपुरभन्दा दक्षिणको भाग, पूर्वमा लोहारपट्टी नगरपालिका वडा ९ बगडा चोक र पश्चिममा इलाका प्रहरी कार्यालय लोहारपट्टीनजिकको पुलसम्म कर्फ्यू लागू गरिएको प्रशासनले जनाएको छ।

बिहीबार बिहान हिन्दु सेना सम्राटका कार्यकर्ता बताउने समूह र भंगहा-८ स्थित पररियाका मुस्लिम समुदायका मानिसहरूबीच झडप भएको हो। हिन्दु सेना सम्राटले निकालेको र्‍याली पररिया पुगेपछि झडप हुन पुगेको थियो। झडपमा केही व्यक्ति घाइते भएको प्रहरीले जनाएको छ। उग्र रूप लिएको झडपलाई नियन्त्रणमा लिन प्रहरीले ३२ राउन्ड हवाई फायर गरेको थियो। अहिले अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ।