चुनाव नजिकिँदै जाँदा उम्मेदवारहरूले प्रचारप्रसार तीव्र बनाएका छन्। मतदाता चाडपर्व तथा बालीनाली भित्र्याउनमा व्यस्त भएको बेलामा उम्मेदवारले घरदैलो शुरू गरेका हुन्।
कुश्मा- आगामी मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुँदैछ। उम्मेदवार गाउँ छिरिसकेका छन्। घरदैलो कार्यक्रममा उम्मेदवार र तिनका नेताले मतदाता रिझाउन अनेकन् प्रयास गरिरहेका भेटिन्छन्। उम्मेदवारले मतदातालाई विश्वासमा लिने प्रयास गरिरहेका छन्।
उम्मेदवारको घरदैलोका क्रममा मतदाता घरमाभन्दा ज्यादा खेतबारीमा भेटिन्छन्। कोदो काट्ने र धान थन्क्याउने चटारोले किसानलाई भ्याइनभ्याइ भएको छ। त्यसैले उम्मेदवारचाहिँ खेतमै पुगेर मत मागिरहेका हुन्छन्। “नेता आउँछन् भनेर घरमा उनीहरूलाई कुरेर बस्न सकिन्”’, धाइरिङकी नवीना आचार्यले भनिन्, “हाम्रो काममा नेताले सघाउने होइनन् क्यारे, हामीलाई खेतीकिसानीमा भ्याइनभ्याइ छ।”
धान, कोदोलगायतका फसल स्याहार्ने बेला छ। “अहिले गाउँमा पुग्दा धेरै मतदाता खेतबारीमा व्यस्त भएको पायौँ”, नेपाली कांग्रेसका युवा नेता याम परियारले भने, “अहिले केही गाउँमा घरदैलो सकिएको छ, कात्तिक १७ गतेपछि फेरि गाउँमा आमसभा, भेटघाट र प्रचार–प्रसारको कार्यक्रमलाई तीव्र पार्छौं।”
कालीगण्डकी छेउमा रहेको मालढुङ्गास्थित सुकुम्वासी बस्तीमा माझीलगायत अन्य जातजातिको बसोबास छ। दलका उम्मेदवार प्रत्येक निर्वाचनमा आश्वासनको भारी बोकेर १५० घरधुरी रहेको यस बस्तीमा भोट माग्न पुग्छन्। यहाँका स्थानीयमा दलका उम्मेदवारप्रति खासै धेरै आशा र अपेक्षाचाहिँ केही छैन।
कालीगण्डकी किनारमा तीन दशकदेखि बस्दै आएका उनीहरूको सामान्य माग भनेको नदीबाट बिना अवरोध बालुवा झिकेर बेच्न पाइयोस् भन्ने छ। उनीहरूको जिन्दगी त्यही कालीगण्डकीको बालुवामा नै अडिएको छ।
"हामीले बालुवा झिक्दा प्रहरी प्रशासनले अवरोध गर्ने, दुःख दिने काम गर्छ”, स्थानीय प्रमीला जिसीले भने, “हाम्रो बाँच्ने आधार भनेकै बालुवा हो, अरूले जस्तो मेसिन लाउँदैनौँ, हातले बालुवा झिक्दा पनि गरी खान दिँदैनन्। हाम्रो समस्या समाधान गर्नेलाई भोट हाल्छौँ।”
महिना दिनअघि दसैँ मनाउन विदेशबाट नेपाल फर्किएका कार्कीनेटाका दिपेश परियार भने चुनावलाई लिएर उत्साहित देखिन्छन्। उनी देशको बिग्रँदो अवस्था र राजनीतिक दलको मनोमानी देखेर आक्रोशित छन्। “पाँच वर्षअघिको चुनावमा भोट खसालेको केही महिनामै परिवार पाल्न बिदेसिएको थिएँ, अहिले पनि चुनावकै समयमा घर फर्किएको छु”, उनले भने, “गाउँमा विकास चाहिएको छ, आश गरौँ अब विकास होला, विकासप्रेमी नेता छान्नुपर्ने छ।”
कुल एक लाख २२ हजार छ सय ४९ मतदाता रहेको पर्वतमा एउटा मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र छ। प्रदेशसभामा क र ख गरी दुई निर्वाचन क्षेत्र छन्। यी सबै निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनका उम्मेदवार र नेकपा (एमाले)बीच प्रतिस्पर्धा हुने देखिन्छ।
गठबन्धनका साझा उम्मेदवारका रूपमा नेपाली कांग्रेसका अर्जुनप्रसाद जोशी तथा एमालेका पदम गिरी प्रतिनिधिसभा सदस्यका लागि फेरि एक पटक भिड्न लागेका छन्। यसअघि गिरीले जोशीलाई पराजित गरेका थिए।
प्रदेशसभा–१ (क)मा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का सुदीप कुँवर र एमालेबाट भक्त कुँवर उम्मेदवार बनेका छन्। त्यस्तै प्रदेशसभा–१ (ख) मा गठबन्धनबाट कांग्रेसका ऋषिकेश तिवारी र एमालेका मित्रलाल बस्याल उम्मेदवार छन्।
जिल्ला निर्वाचन कार्यालयले निर्वाचन आचारसंहिता पालनाका विषयमा निगरानी गरिरहेको निर्वाचन अधिकारी लक्षु शर्माले बताए। “हामीले दलहरूको गतिविधिलाई नजिकबाट हेरिरहेका छौँ”, उनले भने, “अनावश्यक तडकभडक, आमसभा, बाजागाजा, र्यालीलगायतका कार्यक्रम गर्न रोकेका छौँ।” कात्तिक १७ गतेपछि दलहरूले आमसभालगायत कार्यक्रम गर्न पाउने छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
