डनी येनलाई अस्करको उद्घोषकबाट हटाउन ८४ हजार जनाले दिए निवेदन

अभिनेता डनी येनलाई अस्कर अवार्डको उद्घोषकबाट हटाउन माग गर्दै हङकङका ८४ हजार जनाले निवेदन दिएका हुन्।

हलिउड अभिनेता एवं अस्कर अवार्डका उद्घोषक डनी येनले चीन सरकारको समर्थन गरेको भन्दै उनलाई अस्करबाट हटाउनुपर्ने भन्दै हङकङका दशौँहजार नागरिकले हस्ताक्षरसहित निवेदन दिएका छन्। 

अस्कर अवार्डको उद्घोषकबाट हटाउनुपर्ने माग गर्दै हङकङका नागरिकहरूको समूहले अनलाइन निवेदन दिएको बीबीसीले उल्लेख गरेको छ। अभिनेता डनीले ‘सन् २०१९ मा हङकङमा भएको बृहत् आन्दोलन वाक स्वतन्त्रताको मर्म विपरीत भएको’ भन्दै अभिव्यक्ति दिएका थिए।

उनीविरुद्धको निवेदन हङकङका चर्चित अभियन्ता तोङ वाइ हुनले तयार पारेका थिए। तोङ भन्छन्, “डनीलाई एकेडेमीले स्वागत गर्नु भनेको हङकङका जनताको अपमान गर्नु हो। र, अस्करमा उनको उपस्थितिले सम्पूर्ण चलचित्र उद्योगको मान र साखलाई नोक्सानी गर्छ।” तोङले डनीलाई अस्करबाट हटाउन संकलन गरेको निवेदनमा ८४ हजार मानिसले हस्ताक्षर गरेका छन्।

अस्करमा को-को जाने भन्ने निर्णायक मतदान गर्ने एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एन्ड साइन्सेसले भने हालैको निवेदनबारे प्रतिक्रिया दिएको छैन। आगामी आइतबार अमेरिकाको लस एन्जेलसमा हुन गइरहेको ९५ औँ अस्कर अवार्ड समारोहमा उद्घोषकका लागि गत बिहीबार डनीको नाम सार्वजनिक गरिएको थियो।

आफ्नो अभिव्यक्तिले निम्त्याएको विवादप्रति प्रतिक्रिया दिँदै डनीले भने हङकङमा तत्कालीन समयमा प्रदर्शन नभई दंगा भएको बताएका छन्। उनले भने, “हङकङमा भएको प्रदर्शन होइन, दंगा थियो त्यो। मेरो कुरालाई मानिसले कसरी लिन्छन् भनेर सच्याउन चाहन्न। तर, म त्यहाँ थिएँ, मेरा साथीहरू पनि थिए र मेरो आफ्नै अनुभवका आधारमा भनेको हुँ। म राजनीतिक रूपमा प्रस्तुत हुन चाहन्न। मेरो कुराले धेरैजना खुशी हुनुहुन्न होला तर आफ्नो अनुभवका आधारमा त्यस्तो बोलेको हुँ।” 

‍त्यस्तै, अभिनेता डनीले बीबीसी र सीएनएनजस्ता पश्चिमा मिडियाहरूले चीनबारे सधैँ नकारात्मक समाचारहरूलाई प्राथमिकता दिने गरेको बताएको बीबीसीले उल्लेख गरेको छ। 

चीनको ग्वान्झाओमा जन्मेर हङकङमा हुर्केका डनी ११ वर्षको उमेरमा अमेरिका गएका थिए। पछि अमेरिकी नागरिक बनेको ५९ वर्षीय डनी हङकङको शृंखलाबद्ध चलचित्र आईपी म्यानका नायक हुन्। मार्सल आर्टस्मा आधारित सो चलचित्रले विश्वभरबाट बक्स अफिसमा ४०० मिलियन डलर आम्दानी गरेको थियो।

उनी हलिउड अभिनेता कियानु रिभ्ससँगै चलचित्र जोन विक ४ मा पनि देखा पर्दैछन्।

-एजेन्सी