प्रधानमन्त्रीले उपराष्ट्रपतिको निर्वाचनलगत्तै मन्त्रिपरिषद् बिस्तार गर्ने

प्रधानमन्त्री दाहालले उपराष्ट्रपतिको निर्वाचनलगत्तै मन्त्रिपरिषद् बिस्तार हुने बताएका छन्।

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहालले उपराष्ट्रपतिको निर्वाचनलगत्तै सरकार बिस्तार हुने बताएका छन्। बिहीबार राष्ट्रपति निर्वाचनपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

उनले स्थानीय तह, प्रदेश र संघसँगै राष्ट्रपतिको निर्वाचन पनि सफलतापूर्वक सम्पन्न भएको उल्लेख गर्दै समग्रमा निर्वाचन प्रक्रिया शान्तिपूर्ण ढंगले सकिएको बताए। “अब हाम्रो ध्यान सरकारलाई पूर्णता दिने हुन्छ,” उनले भने। निर्वाचन आयोगले उपराष्ट्रपतिको निर्वाचन चैत ३ गतेका लागि तोकेको छ।

बिहीबार नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएका हुन्। पौडेल नेकपा एमालेका उपाध्यक्ष एवं प्रतिस्पर्धी सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै विजयी भएका हुन्। पौडेलले संघतर्फ २१४ र प्रदेशतर्फ ३५२ सांसदको मतप्राप्त गरे भने नेम्वाङले प्रदेशतर्फ १६२ र संघतर्फ ९८ सांसदको मत पाए।