बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरूपणसम्बन्धी विधेयक संसद्मा दर्ता

संघीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले विधेयक दर्ता भएको पाँच दिनपछि बस्ने जुन कुनै संसद् बैठकमा पेस हुनसक्ने बताएका छन्।

काठमाडौँ– सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद् सचिवालयमा दर्ता गरेको छ।

सरकारले बिहीबार ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’ संघीय संसद् सचिवालयमा दर्ता गरेको हो।

संघीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले सरकारले सो विधेयक संसद् सचिवालयमा बिहीबार (आज) दर्ता गरेको जानकारी दिए। उनले विधेयक संक्रमणकालीन न्यायलाई व्यवस्थापन गर्नका लागि बनेको स्पष्ट पारे।

मन्त्रिपरिषद्को बिहीबारको बैठकले विधेयकलाई संसद्मा दर्ता गर्ने निर्णय गरेको थियो। सहायक प्रवक्ता धमलाले विधेयक दर्ता भएको दुई दिनभित्रमा प्रतिनिधिसभाका सबै सदस्यलाई वितरण हुने जानकारी गराए। उनले विधेयक दर्ता भएको पाँच दिनपछि बस्ने जुन कुनै संसद् बैठकमा पेस हुने उल्लेख गरे।

“सरकारी विधेयक भएको हुनाले दर्ता भएको पाँच दिनपछिका बैठकमा मात्रै यो संसद्मा पेस हुनसक्छ। आगामी दिनमा प्रतिनिधिसभामा बस्ने बैठकहरूको कुनै बैठकमा यो विधेयक अगाडि बढ्न सक्छ,” न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले भने।

सचिवालयमा दर्ता भएको विधेयक संसद्मा अगाडि बढाउने विषय राजनीतिक विषय भएको उल्लेख गर्दै उनले सभामुखले राजनीतिक दलहरूसँग छलफल गरी आगामी दिनमा प्रतिनिधिसभाको बैठकमा पेस हुने बताए।