मलेसिया र इजिप्टबाट आइपुग्यो रासायनिक मल

कृषि सामग्री कम्पनीका अनुसार मलेसिया र इजिप्टबाट खरिद गरिएको युरिया र डीएपी मल भारतको कोलकता बन्दरगाह हुँदै नेपाल भित्रिएको छ।

काठमाडौँ– कृषि सामग्री कम्पनी लिमिटेडले आउँदो सिजनलाई मध्यनजर गर्दै रासायनिक मल आपूर्ति गर्न थालेको छ। ग्लोबल टेन्डरमार्फत कम्पनीले खरिद गरेको ३० हजार ४७५ टन युरिया मल वीरगन्ज, भैरहवा र विराटनगर नाकाबाट नेपाल भित्रिएको छ।

कम्पनीसँग २३ हजार टन युरिया मौज्दात छ। हालै आयात भएको र मौज्दात गरी ५३ हजार ४७५ टन युरिया कम्पनीसँग ‘स्टक’मा रहेको कृषि सामग्री कम्पनी लिमिटेडका खरिद शाखा प्रमुख राजेन्द्रबहादुर कार्कीले बताए।

उनका अनुसार मलेसियाबाट खरिद गरिएको युरिया भारतको कोलकता बन्दरगाह हुँदै नेपाल भित्रिएको हो। ग्लोबल टेन्डरमार्फत मल आपूर्तिको जिम्मा स्विस सिंगापुर कम्पनीले पाएको थियो।

त्यस्तै, खरिद भइसकेको र स्विस सिंगापुर कम्पनी नै आपूर्तिकर्ता रहेको २० हजार टन डीएपीमध्ये दुई रेक (मालवाहक रेल) मल वीरगन्ज सुक्खा बन्दरगाह आइसकेको र बाँकी मल बढीमा दुई हप्ताभित्र आइपुग्ने कार्कीको भनाइ छ।

एक रेकमा साढे २ हजार टन मल आउँछ। कार्कीका अनुसार कोलकता आइपुगेको डीएपी मल इजिप्टबाट आयात भएको हो। कम्पनीसँग ४ हजार ९०० टन डीएपी मल मौज्दात छ।

अहिले २४ हजार ९०० टन डीएपी मल हातमा आइसकेको मान्न सकिने कार्कीले दाबी गरे। चैते धान बाली, त्यसपछि मुख्यबाली धानको बिउ छर्ने बेला र रोपाइँका लागि चाहिने मलको आपूर्ति यसपालि अगावै गर्न लागिएको कार्कीले बताए।

यसलगत्तै आयात हुने गरी अर्को २० हजार टन युरिया,  २० हजार टन डीएपी र पाँच हजार टन पोटास खरिदको टेन्डर प्रक्रिया सकिएर आपूर्तिकर्तासँग सम्झौता भइसकेको कार्कीले बताए।

त्यस्तै, २५ हजार टन युरिया र २० हजार टन डीएपी गरी ५५ हजार टन मलका लागि ग्लोबल टेन्डर आह्वान गर्ने तयारी गरिएको कम्पनीले जनाएको छ।

आउँदो सिजनका लागि कम्तिमा पनि डेढ लाख टन युरिया र ८० हजार टन डीएपी मल आवश्यक पर्ने प्रक्षेपण गरिएको कार्कीले बताए।

यो पनि : कसले आउन दिँदैन नेपालमा रासायनिक मल?