‘दोस्रो राष्ट्रिय अर्थशास्त्री सम्मेलन, २०७९’का वक्ताहरूले जटिल अवस्थाबाट गुज्रिरहेको अर्थतन्त्रलाई उद्धार गर्न यसको पुनर्संरचना आवश्यक रहेको बताएका छन्।
काठमाडौँ– मुलुकको अर्थतन्त्रलाई उद्धार गर्न तत्काल संरचनागत सुधारसहितको पहल आवश्यक रहेको जानकारहरूले बताएका छन्। राष्ट्रिय आर्थिक सरोकार समाजले शुक्रबार काठमाडौँमा आयोजना गरेको ‘दोस्रो राष्ट्रिय अर्थशास्त्री सम्मेलन, २०७९’ कार्यक्रमका वक्ताले अहिलेको कार्यशैली र तौरतरिकाबाट समस्या समाधान हुन नसक्ने भएकाले अर्थतन्त्रको पुनर्संरचना आवश्यक रहेको धारणा राखेका हुन्।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकस्तरमा अहिलेको जस्तो निराशा आफूले पहिले कहिल्यै नदेखेको बताए। “अर्थतन्त्रका सूचक र तथ्यतथ्यांकले के भन्छन् भन्दा पनि अवस्थालाई समग्रतामा हेर्ने हो। अहिलेको अवस्थालाई नागरिकले कसरी हेरिरहेका छन् भन्ने कुरा मुख्य हो। अहिले नागरिक आत्तिएका छन्। यति धेरै मानिस एकैपटक यसरी आत्तिएको मैले पहिले देखेको थिइन” कांग्रेस महामन्त्री थापाले भने।
अर्थतन्त्रमा अहिले देखिएका समस्या एकैपटक आएको नभई लामो समयदेखि समाधान नभएका समस्या थपिँदै गएको पनि थापाको भनाइ छ । “हाम्रो अर्थतन्त्रमा हामीले लामो समयदेखि पन्छाउँदै आएका समस्या थुप्रिएका छन्। यी समस्या उत्पादनसँग जोडिएका छन्। युवा विदेश जाने र त्यहाँबाट पठाएको पैसाले वस्तु आयात गरेर उपभोग गर्ने समस्या रहेको छ”, उनले भने।
नेपालका राजनीतिज्ञमा अर्थतन्त्रबारे निकै कम ज्ञान हुने गरेको पनि थापाको भनाइ छ। “राजनीतिज्ञले अर्थतन्त्रका आयाम केलाउँदैन। उनीहरूले जनतालाई गरेका वाचा हेर्छन्। राज्यको स्रोत एकातिर हुन्छ, राजनीतिज्ञहरूलाई जसरी पनि जनताका आकांक्षा पूरा हुनुपर्छ भन्ने छ। यसकारण राजनीतिज्ञलाई अर्थतन्त्रका बारेमा बुझाउन आवश्यक छ,” उनले भने। गृह प्रशासन निरीह हुँदा चोरी पैठारी मौलाएको पनि उनको भनाइ छ।
सोही कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का नेता विजय पौडेलले नेपालको आर्थिक स्थिति जटिल बिन्दुबाट गुज्रिरहेको बताउँदै आन्तरिक उत्पादन वृद्धिमा जोड दिइनुपर्ने बताए। उत्पादन बढाउने विगतदेखिका योजनाको लक्ष्य प्राप्त गर्न नसकेको पौडेलको भनाइ छ।
“विगतदेखि उत्पादन बढाउने योजना प्रभावकारी हुन सकेनन् । सरकार र हाम्रा निकायले निर्धारण गरेका लक्ष्यप्रति उनीहरू जबाफदेही हुनुपर्छ,” पौडेलले भने। राजनीतिक दलले आफू सरकारमा हुँदा अर्थतन्त्र ठीक छ भन्ने र प्रतिपक्षले गम्भीर अवस्थामा छ भन्ने प्रवृत्ति कायम रहेको पनि उनले बताए। त्यस्तै, अहिले उद्योगी व्यवसायीले निराशाको मात्रै कुरा गरिरहेको पनि पौडेलको भनाइ छ।
राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुँयालले नेपालले आफ्नो सामर्थ्य पहिचान गरेर स्रोतसाधनको अधिकतम उपयोगमार्फत उत्पादन बढाउनतर्फ ध्यान दिनुपर्ने बताए। नेपालले तुलनात्मक लाभका वस्तुको पहिचान गरी त्यस्ता वस्तुको उत्पादन बढाउनुपर्ने उनको भनाइ छ।
“उपलब्ध स्रोतसाधनको परिचालनमार्फत उत्पादन र उत्पादकत्व बढाउँदै लैजाने नीति लिइनुपर्छ। तुलनात्मक लाभका वस्तु उत्पादन गरी अन्तर्राष्ट्रिय बजारमा जान सक्नुपर्छ,” उनले भने। उत्पादन र उत्पादकत्व बढाउने गरी वित्तीय दक्षता कायम गर्न आवश्यक रहेको पनि उनले बताए।
त्यस्तै, बजेट विनियोजनमा कुशलता र कार्यान्वयनमा दक्षताको विषयलाई गम्भीरतापूर्वक लिइनुपर्ने फुँयालको भनाइ छ। प्राथमिकताका क्षेत्र पहिचान गरेर चाँडो नतिजा दिने आयोजनालाई बजेटको प्राथमिकतामा राख्नुपर्ने पनि उनले बताए।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले बिग्रँदो अवस्थामा रहेको अर्थतन्त्रका लागि सकारात्मक ढाडस आवश्यक रहेको बताए। कोभिड–१९ महामारी, रुस–युक्रेन युद्ध, विश्व ऊर्जा संकट तथा मूल्यवृद्धि लगायतका विश्वव्यापी समस्याको प्रभाव नेपालको अर्थतन्त्रमा पनि देखिएको बताउँदै गभर्नर अधिकारीले अहिले अर्थतन्त्रको बाह्य क्षेत्र बिस्तारै सुधार हुँदै गएको बताए।
त्यस्तै, नेपालको अर्थतन्त्र सुधार्न संरचनागत सुधार आवश्यक रहेको पनि उनले बताए। “हामीसँग प्रशस्त चुनौती छन्। हाम्रो संरचनागत सुधार आवश्यक छ। सँगसँगै सकारात्मक कुरा पनि जरुरी छ। हाम्रो शोधनान्तर स्थिति बचतमा छ। गत वर्षको तुलनामा बैंकको निक्षेप–कर्जा अनुपात (सीडी रेसियो) घटेको छ। हाम्रोजस्तै अर्थतन्त्र भएका विश्वका अरू मुलुकभन्दा मूल्यवृद्धि कम छ,” गभर्नर अधिकारीले भने।
बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको कर्जाको सही उपयोग हुन नसकेको पनि गभर्नर अधिकारीले बताए। “बैंकले पैसा दिने तर त्यसलाई सदुपयोग गर्न सकिएन भने प्रतिफल आउँदैन। अहिले उत्पादन क्षेत्रभन्दा पनि अनुत्पादक क्षेत्रमा बढी लगानी भयो,” उनले भने। यद्यपि, राष्ट्र बैंकले उत्पादन क्षेत्रको कर्जा बढाउनका लागि क्षेत्रगत कर्जा विस्तारमा जोड दिएको गभर्नर अधिकारीले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
