उपराष्ट्रपतिको निर्वाचन : आज मनोनयन दर्ता

निर्वाचन आयोगले बिहान ९ देखि दिउँसो २ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गर्ने समय तोकेको छ।

काठमाडौँ– उपराष्ट्रपतिको निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदै छ।

निर्वाचन आयोगले बिहान ९ देखि दिउँसो २ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गर्ने समय तोकेको छ।

उपराष्ट्रपतिमा उम्मेदवारी दिने व्यक्ति वंशजका आधारमा नेपाली  नागरिक  भएको, कम्तीमा ४५ वर्ष उमेर पूरा भएको, कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको, संघीय  कानुनले अयोग्य नभएको तथा कुनै लाभको पदमा बहाल नरहेको हुनुपर्ने व्यवस्था छ। 

यस्तै राष्ट्रपतिको पदमा निर्वाचित व्यक्तिको लिंग (पुरुष) वा समुदाय (खस–आर्य)भन्दा फरक (महिला वा अन्य)  वा फरक  समुदाय (दलित, आदिवासी, जनजाति, मधेशी, थारू वा मुस्लिम) व्यक्तिको मनोनयनपत्र मात्र दर्ता गर्ने आयोगले जनाएको छ। 

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भने उपराष्ट्रपतिको उम्मेदवार महिला या अन्य (तेस्रो लिंग) हुनुपर्ने दाबी गरेका छन्।

आठ दलीय गठबन्धनले जसपालाई उपराष्ट्रपति दिने सहमति गरे पनि अन्य दलले पनि त्यसमा दाबी गरेका छन्। नागरिक उन्मुक्ति र जनमत पार्टीले पनि उपराष्ट्रपतिमा दाबी प्रस्तुत गरेका छन्।

यस्तै एमालेले उपराष्ट्रपतिबारे निर्णय लिन बिहान ९ बजे सचिवालय बैठक बोलाएको छ।