अग्नि सापकोटा भन्छन्– राजनीतिक उपलब्धिलाई उल्ट्याउने कोसिस नगरौँ

संक्रमणकालीन न्याय सम्बन्धी विषयको टुंगो सत्य निरूपण तथा मेलमिलाप आयोगमार्फत नै लगाउनुपर्ने सापकोटाको भनाइ छ।

काठमाडौँ– माओवादी उपाध्यक्ष एवं निवर्तमान सभामुख अग्नि सापकोटाले देशमा प्राप्त भएका राजनीतिक उपलब्धिलाई उल्ट्याउने कोसिस भइरहेको बताएका छन्।  

विस्तृत शान्ति सम्झौताको विपरीत जान खोजिए जनताले त्यसको प्रतिरोध गर्ने धारणा राखेका हुन्। “संक्रमणकालीन न्यायसँग सम्बन्धित विषय विस्तृत शान्ति सम्झौताको मर्म र भावना अनुसार अगाडी बढाउनुपर्छ,” सापकोटाले शनिबार जनकपुरमा सञ्चारकर्मीसँग भने।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पक्राउ गरी अनुसन्धान गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएपछि माओवादी धारका नेताहरूले विषयको विरोध गर्दै आएका छन्।

यसरी अदालतमा मुद्दा लगाउँदा संक्रमणकालीन न्यायको पद्धति र शान्ति प्रक्रियालाई असर पुर्‍याउने सापकोटाले बताए।

संक्रमणकालीन न्याय सम्बन्धी विषयको टुंगो सत्य निरूपण तथा मेलमिलाप आयोगमार्फत नै लगाउनुपर्ने सापकोटाको भनाइ छ।