उपराष्ट्रपति निर्वाचनका लागि ४ जनाले गराए मनोनयन दर्ता

उपराष्ट्रपति निर्वाचनका लागि सत्तागठबन्धनमा आबद्ध दलहरूका तर्फबाट तीन जना र नेकपा एमालेका तर्फबाट एक गरी चार जनाको उम्मेदवारी परेको छ।

काठमाडौँ– आगामी चैत ३ गते हुन लागेको उपराष्ट्रपति निर्वाचनका लागि शनिबार चार जना उम्मेदवारले मनोनयन दर्ता गरिएका छन्। १० दलीय गठबन्धनबाट उपराष्ट्रपतिमा तीन जनाको उम्मेदवारी परेको छ भने नेकपा एमालेका तर्फबाट एक जनाले उम्मेदवारी दिएका हुन्।

सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी, नेपाल (जसपा)बाट दुई र जनमत पार्टीबाट एक गरी तीन जनाको उम्मेदवारी परेको हो। जसपाबाट जसपा संसदीय दलका नेता रामसहायप्रसाद यादव र प्रमीला यादवको उम्मेदवारी दर्ता भएको छ।

प्रमिला यादवको प्रस्तावकमा रन्जु झा, मृगेन्द्रकुमार सिंह यादव, नवलकिशोर शाह, दीपक कार्की, राजकिशोर यादव रहेका छन्। उनको समर्थकमा अनिता देवकोटा, विमला सुवेदी, सीता गुरुङ, जयन्ती राई र मनिस सुमन छन्।

त्यस्तै, रामसहायप्रसाद यादवको प्रस्तावकमा जसपा नेता अशोककुमार राई, प्रदीप यादव, किसान श्रेष्ठ, शक्ति बस्नेत, रमेशजंग रायमाझी छन् भने समर्थकमा रेखा यादव, अम्बिका काफ्ले, प्रकाश ज्वाला, खिमलाल देवकोटा, भानुभक्त जोशी रहेका छन्।

त्यस्तै, १० दलीय गठबन्धनबाट नै जनमत पार्टीकी नेता ममता झाले पनि उपराष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गराएकी छन्। उनको प्रस्तावकमा अब्दुल खान, अनिता देवी, गंगाराम चौधरी, अविराम शर्मा, रूपाकुमारी यादव रहेका छन् भने समर्थकमा गोमालाम सापकोटा, विनिताकुमारी सिंह, वसन्तकुमार कुशवाह, रामप्रकाश चौधरी, रानीकुमारी तिवारी छन्।

नेकपा एमालेबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दर्ता गराएकी छन्। उनको प्रस्तावकमा अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, छविलाल विश्वकर्मा, गोकर्ण विष्ट, रघुवीर महासेठ छन्। उनलाई कृष्णगोपाल श्रेष्ठ, महेश बर्तौला, तुलसा दाहाल, भगवती न्यौपाने, यशोदा रिजाल समर्थन गरेका छन्। 

उनीहरू चारै जनाले नयाँ बानेश्वरस्थित संसद् भवनमा स्थापना गरिएको राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयमा पुगेर शनिबार दिउँसो उम्मेदवारी दर्ता गराएका हुन्। मनोनयन दर्ताका लागि आयोगले शनिबार बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्मको समय तोकेको थियो। आयोगले उपराष्ट्रपतिको निर्वाचन चैत ३ गतेका लागि तोकेको छ।

यसअघि फागुन २५ गते सम्पन्न निर्वाचनबाट रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएका छन्। उनी नेकपा एमालेका प्रतिस्पर्धी सुवास नेम्वाङलाई पराजित गर्दै राष्ट्रपतिमा निर्वाचित भएका थिए।