प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष दाहालले केही दिनमा समाजवादी मोर्चा बनाएर कम्युनिस्टहरूको एकताका निम्ति बहस शुरू गर्ने बताएका छन्।
काठमाडौँ– प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनमा समाजवादी मोर्चा बन्ने र त्यसको जगमा कम्युनिस्ट एकताको पहल गरिने बताएका छन्। शनिबार दिउँसो पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मधेश प्रदेशमा कार्यरत पार्टी केन्द्रीय सदस्यहरूको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले पहिला समाजवादी मोर्चा बनाउने र त्यसपछि कम्युनिस्टहरूको बृहत्तर एकताका निम्ति बहस शुरू गरिने बताएका हुन्।
“जनयुद्ध र जनआन्दोलनका मुद्दा सम्बोधन भइसकेका छैनन्, शान्ति प्रक्रिया टुंगोमा पुगिसकेको छैन” प्रधानमन्त्री दाहालले भने, “शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायको सिद्धान्तका आधारमा राजनीतिक निकास दिने जिम्मेवारी हाम्रो काँधमा छ। यसका निम्ति समाजवादी शक्तिहरूको सहकार्य र एकता जरुरी छ।”
प्रधानमन्त्री दाहालले मोर्चा बनाउन माओवादी धाराका कम्युनिस्ट घटकहरूबीच छलफल भइरहेको बताए। उनले शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायसम्बन्धी विषय सत्य निरूपण तथा मेलमिलापको माध्यमबाट टुंगो लगाउनुपर्छ भन्ने आफूहरूको साझा मत रहेको सुनाए। “भोलि संयुक्त अपिल गर्दै छौँ, पत्रकार सम्मेलन गर्दछौँ। केही दिनमा समाजवादी मोर्चा बन्छ,” उनले भने।
उनले संसारमा एकपटक कम्युनिस्ट आन्दोलन पराजित भएपछि उठेर आएका दृष्टान्त बिरलै रहेको उल्लेख गरे। “चाहे पूर्वी युरोप हेर्नुस्, चाहे पश्चिम बंगाल वा अन्य ठाउँको क्रान्ति हेर्नुस्, क्रान्तिले धक्का खाएपछि उठ्न कठिन हुन्छ। नेपालमा पनि हामी चुनौती र सम्भावनाको दोसाँधमा छौँ,” उनले भने। बृहत्तर वामपन्थी एकतामार्फत चुनौती छिचोलेर समाजवादको ढोका खोल्नुपर्ने उनको धारणा छ।
उनले समाजवादी मोर्चा बनेपछि कम्युनिस्ट पार्टीहरूको एकताका निम्ति नयाँ आधार निर्माण हुने बताए। उनले त्यसको पहल माओवादीहरूले लिनुपर्ने तर्क गरे। “एमालेभित्र पनि ठूलो पंक्ति वामपन्थीहरूको एकताको पक्षमा छ। हिजोको नेकपा फेरि पुनर्स्थापित गर्नुपर्छ भन्ने मत पनि त्यहाँ छ। त्यो मत क्रान्तिको हितमा छ, कम्युनिस्ट आन्दोलनको हितमा छ। त्यसैले हामीले नै एकताको अग्रसरता लिनुपर्छ,” उनले भने।
एमालेको मूल नेतृत्व कम्युनिस्ट एकताका विरुद्धमा रहेको प्रधानमन्त्री दाहालको भनाइ छ। “नेकपा विभाजित हुँदा हिजो जसले दीपावली गर्यो, पार्टी एकता भाँड्यो, त्यो शक्ति र प्रवृत्तिबाहेक एमालेभित्र पनि अधिकांश नेता–कार्यकर्ता फेरि नेकपा चाहिन्छ भन्नेमा छन्” उनले भने, “तसर्थ, त्यो प्रवृत्तिलाई पराजित गर्दै हामीले फेरि एकताका निम्ति बहस गर्ने बेला आयो।”
प्रधानमन्त्री दाहालले नेता–कार्यकर्ता जनतामा गएर, उनीहरूको सुझाव लिएर आएपछि नयाँ ढंगले समीक्षा गर्ने र त्यसका आधारमा माओवादी केन्द्र अगाडि बढ्ने बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
