युनाइटेडमा रोनाल्डोको पुनरागमन

रोनाल्डो टोलीमा फर्कंदा डिफेन्डर राफाएल भारान भने टोलीबाट बाहिर नै रहनेछन्। चेल्सीविरुद्धको खेलमा चोट बोकेका उनले विश्वकप गुमाउने सम्भावना छ।

तस्वीर : स्काई स्पोर्ट्स

काठमाडौँ– विश्व फुटबल स्टार तथा पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा पुनरागमन गरेका छन्। उनले बिहीबार युईएफए युरोपा लिगमा मोल्डोभाको क्लब शेरिफ टिरास्पोलविरुद्ध उत्कृष्ट गोल गरे। इंग्लिस प्रिमियर लिगअन्तर्गत चेल्सीविरुद्धको खेलमा रोनाल्डोलाई क्बलले अनुशासन उल्लंघन गरेको भन्दै कारबाही गरेको थियो।

प्रशिक्षक एरिक टेन हागले रोनाल्डोलाई टोटनह्यामविरुद्धको खेलमा शुरूआती–११ मा समावेश गराएका थिएनन्। यसबाहेक उनलाई खेलका क्रममा कुनै खेलाडीको स्थानमा खेल्न पनि पठाइएको थिएन। प्रशिक्षकको निर्णयबाट आक्रोशित बनेका रोनाल्डोले यस्तो काम गरे, जुन उनीबाट कसैले अपेक्षा गरेका थिएन।

प्रशिक्षक टेन हागले रोनाल्डोलाई खेलमा बेन्चबाट मैदान छिराउन चाहेका थिए। तर, खेलको अन्त्यतिर रोनाल्डोले मैदान पस्न नमान्दै खेल चलिरहँदा ड्रेसिङ रूमतर्फ लागेका थिए। उक्त घटनापछि क्लबले रोनाल्डो चेल्सीविरुद्ध खेलमा समावेश नहुने जनाएको थियो। रोनाल्डोले आफ्नो सामाजिक सञ्जालमा भने त्यसबेला आफूले सही कार्य नगरेको स्वीकार गरेका थिए।

नियमअनुसार कुनै पनि खेलाडीले खेलको समयमा अफिसियललाई जानकारी दिएर मात्र ड्रेसिङ रूममा प्रवेश गर्न पाउँछन्। रोनाल्डोले त्यस्तो केही गरेनन्। उनी रिसाउँदै सिधै ड्रेसिङ रूमतिर लागेका थिए।

यो घटनापछि पनि रोनाल्डोले टोली छाडेका थिएनन्। उनले क्लबमा रहेर अभ्यास गरिरहेका थिए। त्यसपछि युरोपा लिग खेलका लागि उनी टोलीमा छनोट भए। उनले ८१औँ मिनेटमा टिरास्पोलविरुद्ध गोल गरेका थिए। टोलीको यो तेस्रो गोल थियो। उनीअघि ४४औँ मिनेटमा डिएगो डालोटले र ६५औँ मिनेटमा मार्कस रासफोर्डले गोल गरेका थिए।

यो खेल युनाइटेडले ३–० ले जितेको थियो। जितसँगै उसले ५ खेलमा १२ अंक जोडेको छ। युनाइटेड समूह 'ई'मा दोस्रो स्थानमा छन्। स्पेनिस क्लब रियल सोसिडाड ५ खेलबाट १५ अंकसहित शीर्ष स्थानमा छ।

प्रशिक्षक टेन हागले पनि रोनाल्डोसँग छलफल भएको र टोलीमा फर्केको पक्का गरे। "हामीबीच सबै कुरा भएको छ। एक अर्काको प्रश्नको उत्तर पायौँ। उनलाई एक खेलका लागि टोलीबाट बाहिर राखेका थियौँ। अब उनी टोलीमा फर्केका छन्," उनले भने।

रोनाल्डो टोलीमा फर्कंदा डिफेन्डर राफाएल भारान भने टोलीबाट बाहिर नै रहनेछन्। चेल्सीविरुद्धको खेलमा चोट बोकेका उनले विश्वकप गुमाउने सम्भावना छ। २९ वर्षीय डिफेन्डरले फ्रान्सका लागि ८७ खेल खेलिसकेका छन्।

यो जितसँगै युनाइटेडले युरोपा लिगको अर्को चरणमा पुग्ने आशा जीवितै राखेको छ। उसले नोभेम्बर ३ मा रियल सोसिडाडसँग खेल्ने छ। यदि उसले त्यो खेल जित्यो भने दुवै टोलीको १५/१५ अंक हुनेछ। यस्तो अवस्थामा गोल अन्तरका आधारमा पहिलो स्थानको टोली तय हुनेछ।

शीर्ष टोली सिधै प्रि–क्वार्टरफाइनलमा प्रवेश गर्नेछ। योसँगै हार्ने टोलीले प्लेअफमा खेल्नुपर्नेछ। यो खेल च्याम्पियन्स लिगबाट बाहिरिएको टोलीसँग हुनेछ। तेस्रो स्थानको टोली भने युरोपा कन्फरेन्स लिगमा घटुवा हुनेछ।

च्याम्पियन्स लिगबाट बाहिरिसकेका युभेन्ट्स र बार्सिलोनाले युरोपा लिगको नकआउट चरण प्रवेशका लागि प्लेअफ खेल्नेछन्। युभेन्ट्स र बार्सिलोना समूहको तेस्रो स्थानमा रहेसँगै युरोपा लिगमा घटुवा भएका थिए।