नेपाल राष्ट्र बैंकले विदेशी विनिमय सञ्चिति, शोधनान्तर स्थिति र रेमिट्यान्समा क्रमिक सुधार आएको जनाएको छ।
काठमाडौँ– आयातमा आएको गिरावट र रेमिट्यान्समा वृद्धि लगायतका कारण अर्थतन्त्रका बाह्य सूचकमा निरन्तर सुधार देखिएको छ। राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको सात महिनाको समग्र आर्थिक तथा वित्तीय प्रतिवेदनमा कूल विदेशी विनिमय सञ्चिति, शोधनान्तर स्थिति र रेमिट्यान्समा क्रमिक सुधार देखिएको हो।
माघ मसान्तसम्म शोधनान्तर स्थिति एक खर्ब ३३ अर्ब २१ करोड रुपैयाँले बचतमा रहेको छ। पुस मसान्तसम्म ९७ अर्ब १० करोड रुपैयाँले बचतमा रहेकोमा माघमा ३६ अर्ब ११ करोड रुपैयाँ थपिएको हो। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति दुई खर्ब ४७ अर्ब एक करोड रुपैयाँले घाटामा रहेको थियो।
अमेरिकी डलरमा अघिल्लो वर्षको माघसम्म दुई अर्ब सात करोड रुपैयाँले घाटामा रहेको शोधनान्तर स्थिति चालु आर्थिक वर्षको सोही अवधिमा एक अर्ब एक करोड रुपैयाँले बचतमा रहेको छ। मुलुकमा भित्रिने र बाहिरिने रकमको अन्तरलाई शोधनान्तर स्थितिले जनाउँछ।
यस्तै, चालु खाता घाटामा पनि सुधार देखिएको छ। माघ मसान्तमा यस्तो घाटा २९ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता चार खर्ब ११ अर्ब ३४ करोड रुपैयाँले घाटामा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो माघसम्म तीन अर्ब ४५ करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा २३ करोड ४६ लाखले घाटामा रहेको छ।
निश्चित समयावधिभित्र आवासीय र गैरआवासीय व्यक्ति–संस्थाबीच भएका चालु प्रकृतिका आर्थिक कारोबारको सारांश नै चालु खाता सन्तुलन हो। चालु खाता घाटा वा बचतमा रहन सक्छ। चालु खाता घाटाले अन्य देशहरूबाट खुद सापटी लिइएको र चालु खाता बचतले अन्य देशहरूलाई खुद सापटी दिइएको भन्ने बुझाउँछ। चालु खाताअन्तर्गत वस्तु तथा सेवा व्यापार खाता, आम्दानी खाता र ट्रान्सफर खाता रहन्छन्।
विदेशी सञ्चितिले ९.४ महिनाको आयात धान्ने
गत असार मसान्तको तुलनामा कुल विदेशी विनिमय सञ्चिति १३.८ प्रतिशतले बढेर १३ खर्ब ८३ अर्ब ३३ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ। गत असारमा १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ विदेशी मुद्रा सञ्चिति थियो।
अमेरिकी डलरमा यस्तो सञ्चिति असार मसान्तमा नौ अर्ब ५४ करोड रहेकोमा माघमा १०.२ प्रतिशतले बढेर १० अर्ब ५० करोड कायम भएको छ। माघमा मात्र विदेशी मुद्राको सञ्चिति ४६ अर्ब चार करोडले बढेको हो।
चालु वर्षको माघसम्मको राष्ट्र बैंकको तथ्यांकअनुसार कायम सञ्चितिले ९.४ महिनाको वस्तु तथा सेवा खरिद गर्न पुग्नेछ। पुस मसान्तसम्म ९.१ महिनाको वस्तु तथा सेवा आयात गर्न पुग्ने विदेशी मुद्रा सञ्चिति थियो।
रेमिट्यान्स २७ प्रतिशतले बढ्यो
गत साउनदेखि माघ मसान्तसम्म ६ खर्ब ८९ अर्ब ८८ करोड रुपैयाँ रेमिट्यान्स मुलुकमा भित्रिएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २७.१ प्रतिशत बढी हो। पोहोर माघसम्म रेमिट्यान्स ४.४ प्रतिशतले घटेको थियो। यो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ५७.३ प्रतिशतले बढेर तीन लाख १४ हजार ७६७ पुगेको छ।
यस्तै, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा १०.१ प्रतिशतले बढेर एक लाख ६७ हजार ७०८ पुगेको छ।
महँगी बढ्यो
राष्ट्र बैंकका अनुसार माघमा महँगी बढेको छ। चालु आर्थिक वर्षको माघ मसान्तसम्म वार्षिक उपभोक्ता मुद्रास्फीति दर ७.८८ प्रतिशत पुगेको हो। पुस मसान्तसम्म ७.२६ प्रतिशत कायम थियो। गत वर्षको माघमा भने मुद्रास्फीति दर ६.२४ प्रतिशत थियो।
केन्द्रीय बैंकका अनुसार माघमा खाद्य तथा पेय पदार्थ समूह मुद्रास्फीति ६.१९, गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ९.२२ प्रतिशत रहेको छ। समीक्षा महिनामा काठमाडौँ उपत्यकामा मूल्यवृद्धि ८.४७ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष उक्त अवधिमा मूल्यवृद्धि ५.४७ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
