नेप्से दोहोरो अंकले घट्यो, १ अर्ब ६६ करोडको कारोबार

आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ भने एक अर्ब ६६ करोड रुपैयाँको सेयर किनबेच भएको छ।

काठमाडौँ– साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ। बिहीबार ५०.०४ अंकले बढेर बन्द भएको नेप्से आइतबार २६.८० अंकले घटेर १९७५.८९ बिन्दुमा झरेको हो।

आइतबार कारोबारमा आएका २६० मध्ये १८६ कम्पनीको सेयर घटेको छ भने २६ वटाको बढेको छ। त्यस्तै, ६ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएन। आइतबार एक अर्ब ६६ करोड रुपैयाँको सेयर किनबेच भयो।

आइतबार १३ वटै उपसमूह नकारात्मक हुँदै बजार राताम्मे हुन पुगेको छ। बैंकिङ २२, विकास बैंक ५२, फाइनान्स २८, होटल तथा पर्यटन ३१, जलविद्युत् ३८, जीवन बिमा १३८, उत्पादन १७, माइक्रोफाइनान्स ३०, निर्जीवन बिमा ११९, व्यापार २४ र अन्य ८ उपसमूह अंक घटे।

आइतबार शुभम् पावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। त्यस्तै, युनिक नेपाल लघुवित्तको ४ र नाडेप लघुवित्तको ३ प्रतिशत बढ्दा हिमालयन बैंकको मूल्य ६.३ प्रतिशत, नेपाल इन्स्योरेन्स कम्पनी, खप्तड लघुवित्त र आदर्श लघुवित्तको मूल्य ५ प्रतिशत घट्यो।

आइतबार शिवम् सिमेन्ट, हिमालयन डिस्टिलरी, लुम्बिनी जनरल इन्स्योरेन्स र निफ्रामा लगानीकर्ताको आकर्षण देखिएको छ।