सिन्धुली बस दुर्घटनामा ज्यान गुमाएका ६ मध्ये ३ को सनाखत

बस दुर्घटनामा परी घाइते भएका १६ जनालाई उपचारका लागि काठमाडौँ लगिएको प्रहरी उपरीक्षक सिलवालले जानकारी दिए।

सिन्धुली– मध्यपहाडी राजमार्गअन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका–४ कुहिभीरमा बस दुर्घटनामा परी ज्यान गुमाएका छमध्ये तीन जनाको सनाखत भएको छ। उक्त दुर्घटनामा तीन महिला र तीन पुरुषको मृत्यु भएको थियो।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार दुर्घटनामा ज्यान गुमाउनेमा ओखलढुंगाको सिद्धिचरण नगरपालिका–३ का ३२ वर्षीय पेशल भुजेल, मानेभञ्ज्याङ गाउँपालिका–६ का २४ वर्षीय देवबहादुर सार्की र उदयपुरको कटारी नगरपालिका–२ का ३४ वर्षीया कुमारी मगर रहेका छन्। अन्य मृतकको सनाखत हुन सकेको छैन।

ओखलढुंगाबाट काठमाडौँ जाँदै गरेको बा२ख ६५९६ नम्बरको बस आइतबार बिहान दुर्घटना भएको हो। बसमा चालकसहित ३६ यात्रु सवार थिए। १६ घाइतेलाई उपचारका लागि काठमाडौँ लगिएको प्रहरी उपरीक्षक सिलवालले जानकारी दिए। तीमध्ये आठ जनालाई हेलिकप्टरमा तथा आठ जनालाई एम्बुलेन्समार्फत उपचारका लागि काठमाडौँ लगिएको हो। 

सामान्य घाइते १४ जनाको खुर्कोट अस्पतालमा उपचार भइरहेको छ। बसको ब्रेक फेल भई अनियन्त्रित हुँदा भित्तामा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ।