तीन महिनामा भित्रियो साढे ५ खर्ब रेमिट्यान्स

पछिल्लो तीन महिनामा वैदेशिक रोजगारीका लागि संस्थागत तथा व्यक्तिगततर्फ अन्तिम श्रम स्वीकृति लिनेको संख्या एक लाख २३ हजार ४५९ र पुनः श्रम स्वीकृति लिनेको संख्या ७७ हजार २५७ रहेको छ।

काठमाडौँ– चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा साढे पाँच खर्बभन्दा बढी रेमिट्यान्स भित्रिएको छ।

नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८२/८३ को असोज महिनासम्मको तथ्यांकमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार विप्रेषण आप्रवाह ३५.४ प्रतिशतले वृद्धि भई पाँच खर्ब ५३ अर्ब ३१ करोड रुपैयाँ पुगेको हो।

गत असोजमा मात्र दुई खर्ब एक अर्ब २२ करोड विप्रेषण आप्रवाह भएको राष्ट्र बैंकले जनाएको छ। यो अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ६ खर्ब १० अर्ब ६१ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय चार खर्ब ४३ अर्ब ७६ करोड रुपैयाँ रहेको थियो।

पछिल्लो तीन महिना अवधिमा वैदेशिक रोजगारीका लागि संस्थागत तथा व्यक्तिगततर्फ अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या एक लाख २३ हजार ४५९ र पुनः श्रम स्वीकृति लिनेको संख्या ७७ हजार २५७ रहेको छ।