संसदीय भूमिकामा महिलाहरूको मूल्यांकन भएन: मन्त्री शर्मा

सञ्चारमन्त्री रेखा शर्माले संसद्मा महिलाहरूले निभाएको भूमिकाको उचित मूल्यांकन हुन नसकेको गुनासो गरेकी छन्।

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संसद्मा महिलाहरूले निभाएको भूमिकाबारे उल्लेखनीय चर्चा हुन नसकेको गुनासो गरेकी छन्। सोमबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले संसद्मा महिलाले निभाएको भूमिकाको चर्चा हुन नसकेको बताएकी हुन्।

उनले संसद्मा कानून निर्माण गर्दा महिलाले नै सबैभन्दा बढी संशोधन गर्ने भए पनि त्यसको मूल्यांकन कहीँ कतै नभएको उल्लेख गरिन्। उनले संसद्मा कोरम पुर्‍याउनेदेखि संसद्को बैठक आयोजना र व्यवस्थापन गर्न पनि महिलाहरूको बढी सहभागिता रहने बताइन्।

“संसद्भित्र हेर्‍यौँ भने कानून बनाउँदै गर्दा सबैभन्दा धेरै संशोधन महिलाले नै हाल्छन्, संसद्मा कोरम पुर्‍याउन सबैभन्दा ठूलो संख्या महिलाको नै हुन्छ। तर बाहिर आउँदा मूल्यांकन, चर्चा हुँदैन,” उनले भनिन्।

यद्यपि, अवसर पाएका महिलालाई असफल हुने छुट रहेको उनको भनाइ छ। “अवसर पाएका पुरुषहरू सबै सफल हुँदैनन्, अवसर पाएका महिलाहरू पनि सबै सफल हुँदैनन्। तर समस्या के छ भने महिला सफल नहुँदा त्यो कम्युनिटी असफल हुन्छ, पुरुष असफल हुँदा व्यक्ति मात्रै हुन्छ,” उनले भनिन्, “जतिसुकै कष्ट गरेर भए पनि हामी अवसर पाएका महिलाहरू उत्तीर्ण हुनै पर्छ।”