एमालेले ‘चुच्चे नक्सा’लाई अजेन्डा बनाउन चुनावी अभियान नै दार्चुलाबाट शुरु गर्ने भएको छ। खलंगामा कात्तिक १८ गते हुने सभालाई अध्यक्ष केपी ओलीले सम्बोधन गर्ने छन्।
काठमाडौँ– मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेकपा एमालेले कात्तिक १८ गतेदेखि चुनावी अभियान शुरू गर्दैछ। सुदूरपश्चिमको दार्चुलामा हुने पहिलो चुनावी सभालाई सम्बोधन गर्न अध्यक्ष केपी ओलीसहितका नेता त्यता जाँदैछन्।
दार्चुलास्थित सदरमुकाम खलंगामा १८ गते बिहान ११ बजे हुने सभालाई सम्बोधन गर्न ओली हेलिकोप्टरबाट जाने एमाले स्रोतले जनाएको छ। त्यही दिन उनले सुदूरपश्चिमका अरु दुई जिल्लामा हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम छ।
ओलीले यसअघिका निर्वाचनमा अभियान थाल्दा पूर्वतिरका जिल्ला रोज्ने गरेका थिए। गएको स्थानीय तह निर्वाचनमा भने उनले भर्चुअल माध्यमबाट अभियानको शुरूआत गरेका थिए।
ओली दोस्रो पटक प्रधानमन्त्री भएका बेला भारतद्वारा अतिक्रमित दार्चुलाको भूभाग लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटेर ‘चुच्चे नक्सा’ सार्वजनिक गरेका थिए। नेपालको नक्साको पश्चिम उत्तरमा देखिने चुच्चो भाग नै लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र हो।
आफू प्रधानमन्त्री हुँदा भारतले अतिक्रमण गरेको क्षेत्र नक्सामा समेटिएको विषयलाई चुनावी अजेन्डा बनाउन ओलीले पहिलो सभा नै दार्चुलामा राखेका हुन्। “राष्ट्रियताको सवालमा हाम्रो पार्टीको प्रष्ट विचार रहँदै आएको छ। उहाँ प्रधानमन्त्री भएका बेला नै अतिक्रमित भूभाग समेटिएको नक्सा सार्वजनिक गरिएको हो,” ओली निकट एक नेता भन्छन्, “अहिले त्यहाँबाट चुनावी कार्यक्रम शुरू गर्नुको पछाडि आम जनतालाई त्यसबारे सन्देश दिनु पनि हो।”
दार्चुलाबाट प्रतिनिधिसभातर्फ उम्मेदवार रहेका निवर्तमान सांसद तथा एमाले पोलिटब्युरो सदस्य गणेशसिंह ठगुन्नाले पार्टी केन्द्रकै निर्णयअनुसार दार्चुलाबाट चुनावी अभियान शुरू हुन लागेको बताए। “अतिक्रमित भूमि समेटेर नक्सा जारी गरिएको जिल्ला भएको हुनाले एमाले त्यसको पक्षमा दृढतापूर्वक उभिएको छ र भविष्यमा पनि उभिने सन्देश दिन यहाँबाट अभियान शुरू हुन लागेको हो,” ठगुन्नाले भने।
ओली नेतृत्वको सरकारले २०७७ जेठ ७ गते कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्सा सार्वजनिक गरेको थियो। भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले उक्त नक्सा जेठ ९ गते राजपत्रमा प्रकाशित गरेको थियो।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले नेपालको संविधानलाई संशोधन गर्न बनेको विधेयक संसद् सचिवालयमा जेठ ९ गते नै दर्ता गरेको थियो। प्रतिनिधिसभा हुँदै राष्ट्रिय सभाबाट समेत दुईतिहाइ बहुमतले पारित भएपछि संविधानको अनुसूची ३ मा रहेको निशान छाप फेरिएको थियो। त्यसपछि नेपालको क्षेत्रफल नै परिवर्तन हुने गरी नयाँ नक्सामा दार्चुला जिल्लासँग जोडिएको पश्चिमपट्टिको चुच्चो भाग जोडिएको थियो।
राष्ट्रियता र राष्ट्रिय स्वाधिनताका सवालमा एमाले दृढ रहेको सुदूरपश्चिमका नेताहरूको दाबी छ। अतिक्रमित भूमि समेटेर नक्सा जारी भएपछि अब उक्त जमिन फिर्ता ल्याउन एमालेकै नेतृत्वको सरकारले मात्र पहल गर्न सक्ने सुदूरपश्चिमका एमाले प्रदेश सचिव धर्मराज पाठक बताउँछन्। त्यहीकारण दार्चुलाबाट चुनावी अभियान शुरू गर्न लागिएको उनको भनाइ छ।
“राष्ट्रिय स्वाधिनताको पक्षमा एमालेले योभन्दा अगाडि लिएका अडान र कामहरू नै अहिलेको चुनावको मुख्य अजेन्डा हुन्,” प्रदेश सचिव पाठकले भने, “हाम्रो नेतृत्वको सरकार हुँदा हामीले गुमाएको भूभाग समेटेर जुन नक्सा जारी गरेका थियौँ, त्यो राष्ट्रिय स्वाधिनताको पक्षमा गरेको महत्वपूर्ण अडान हो।” एमालेले चुच्चे नक्साको अजेन्डा देशैभरि लैजान चाहेको सन्देश दिन दार्चुलाबाटै कार्यक्रम शुरु गरिन लागिएको उनले बताए।
एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजाल भने दार्चुलाबाट चुनावी अभियान शुरू गर्नुको पछाडि राष्ट्रियताको विषय अजेन्डा बनाउने उद्देश्य नभएको बताए। तर, घुमाउरो भाषामा प्रचारको उद्देश्य रहेको स्वीकार गरे। “एमालेले राष्ट्रियता, स्वाभिमान र राष्ट्रिय हितलाई कहिले पनि चुनावी अजेन्डा बनाउँदैन। एमाले नेपालको राष्ट्रिय हित र प्रबर्द्धन गर्ने पार्टी हो,” उनले भने, “यो त स्वतः स्थापित स्वयम् सिद्ध तथ्य हो। हाम्रा लागि चुनावी अजेन्डा बन्ला भनेर नक्सा जारी गरिएको होइन।”
रिजालले राष्ट्रियता तथा स्वाधिनताको रक्षा गर्नु पार्टीको कर्तव्य र दायित्व भएको भन्दै यसलाई चुनावी अजेन्डा बनाउनु आवश्यक नरहेको बताए। “राष्ट्रिय हित र एकताको प्रबर्द्धक पार्टी भएकाले यसको स्वतः लाभ एमालेलाई छँदैछ,” रिजालले भने।
सुदूरपश्चिम विश्वविद्यालयका पूर्वडिन तथा राजनीतिशास्त्रका प्राध्यापक टेकराज पन्त एमालेले दार्चुलाबाट चुनावी अभियान शुरू गर्नुको कारण राष्ट्रियतालाई जोडेर चुनावी अजेन्डा स्थापित गर्नु नै रहेको बताउँछन्। “नाकाबन्दीको बेला पनि एमाले अध्यक्ष ओलीले राष्ट्रियताको मुद्दा अगाडि बढाउनुभएको थियो। अहिले पनि अतिक्रमित भूभाग समेटेर नक्सा जारी गरिएको जिल्लाबाट अभियान शुरू गर्नुको कारण त्यही हो,” उनले भने, “गुमेको भूमि नक्सामा सार्वजनिक गरेको विषयलाई जनतामा बुझाउन खोजेको देखिन्छ।”
२०७४ सालको आमनिर्वाचनपछि ओली प्रधानमन्त्री भएका थिए। उनले दुई पटकसम्म संसद् विघटन गरेका थिए। दोस्रो पटकको संसद् विघटनलाई पनि २०७८ असार २८ गते सर्वोच्च अदालतको संवैधानिक इजलासले बदर गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो।
त्यसयता ओलीले सार्वजनिक कार्यक्रमहरूमा आफूले अतिक्रमित भूभाग समेटेर नक्सा जारी गरेकै कारण प्रधानमन्त्रीबाट हट्नु परेको बताउँदै आएका छन्। गएको स्थानीय निर्वाचनमा भएका सभाहरूमा पनि उनले चुच्चे नक्साको विषय उठाएका थिए।
ओलीले २०७४ सालको निर्वाचनमा २०७२ सालमा भारतले गरेको नाकाबन्दीको आफूले सामना गरेको र त्यहीकारण प्रधानमन्त्री पद गुमाउनु परेको प्रचार गरेका थिए। २०७२ असोज ३ गते संविधान जारी भएपछि असोज ५ गतेबाट भारतले नाकाबन्दी लगाएको थियो। ओली पहिलोपटक त्यही वर्ष असोज २५ गते प्रधानमन्त्री नियुक्त भएका थिए।
दुई साताभित्र ४० जिल्लामा ओलीको सम्बोधन
दार्चुला सदरमुकाम खलंगाबाट कात्तिक १८ गते शुरू हुने एमालेको चुनावी अभियान मंसिर १ गतेसम्म सञ्चालन हुनेछ। अधिकांश चुनावी सभालाई एमाले अध्यक्ष ओलीले नै सम्बोधन गर्ने कार्यक्रम छ।
खलंगामा बिहान ११ बजे आयोजना हुने सभालाई सम्बोधन गरेर ओलीले त्यसै दिन सुदूरपश्चिमका अन्य दुई जिल्ला पुग्ने छन्। उनले त्यही दिन बैतडीको पाटन र कञ्चनपुर सदरमुकाम महेन्द्रनगरका सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको सुदूरपश्चिम प्रदेश सचिव पाठकले जानकारी दिए।
एमाले प्रचार विभाग उपप्रमुख रिजालका अनुसार ओलीले ४० वटा जिल्लामा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ। “हाम्रो अध्यक्ष ४० वटा जिल्लामा सहभागी हुनुहुनेछ। एक दिनमा तीन वटा जिल्लासम्म सम्बोधन गर्ने गरी न्यूनतम कार्यक्रम बनाइएको छ,” उनले भने, “कतिपय एउटै जिल्लाका दुई निर्वाचन क्षेत्रमा पनि सम्बोधन गर्नुहुन्छ होला, तर कति निर्वाचन क्षेत्र भन्ने अहिले नै यकिन छैन।”
गत वैशाख ३० मा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा पनि एमाले अध्यक्ष ओली नै अधिकाशं सभामा पुगेका थिए। “पार्टीमा अध्यक्षपछि अरू नेताहरू पनि छौँ। तर, जिल्ला तहमा नेता कार्यकर्ता र आम जनसमुदायमा उहाँको नै धेरै क्रेज भएकाले अध्यक्षको बढी व्यस्तता देखिने गरेको हो,” एमालेका एक पदाधिकारी भन्छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
